Thu. May 2nd, 2024

लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय, असार १६ गतेसम्म उडान र सीमा बन्द

काठमाडौं, २०७७ जेठ १८ गते आईतबार

सरकारले जारी बन्दाबन्दी जेठ ३२ गते आइतबारसम्मका लागि थप गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले असार १६ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णयसमेत गरेको छ । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।युवराज खतिवडाले जारी बन्दाबन्दी जेठ ३२ गतेसम्मका लागि थप गरिएको जानकारी दिनुभयो । यसअघि सरकारले जेठ २० गतेसम्मका लागि बन्दाबन्दी जारी गरेको थियो । कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न बन्दाबन्दी प्रभावकारी भएको निष्कर्ष सरकारको छ । चैत ११ गतेदेखि नेपालमा बन्दाबन्दी जारी छ ।

प्रवक्ता डा।खतिवडाले बन्दाबन्दीको स्वरुप परिमार्जनबारे समेत छलफल भएको जानकारी दिनुभयो । उहाँका अनुसार, कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई बन्दाबन्दीको परिमार्जित स्वरुपबारे छलफलगरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न समेत निर्देशन दिइएको छ ।

प्रवक्ता डा।खतिवडाले सङ्क्रमणको जोखिम सीमा पारीबाट बढेकाले सीमा प्रवेशमा कडाई गरिने समेत बताउनुभयो । त्यसका लागि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार छिमेकी मुलुकसँग सहकार्य गर्ने निर्णय समेत बैठकले गरेको जनाइएको छ ।

उहाँले बजेटबारे सङ्क्षिप्त प्रतिक्रिया दिदै स्वास्थ्य क्षेत्रको चुनौतीलाई सम्बोधन गर्ने बजेट सरकारले ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकभित्रको बेरोजगारी र विदेशबाट आउने युवालाई कसरी रोजगारीमा आवद्ध गर्न सकिएला रु भन्ने विषयमा समेत बजेट केन्द्रित छ ।”

उहाँले थप्नुभयो, “श्रमिक, व्यवसायी, कृषक, निर्माण व्यवसायी सबै क्षेत्र अप्ठेरोमा छ । सबै क्षेत्रमा राहत र अनुदानको कार्यक्रम अगाडि बडाइएको छ ।” उहाँले पूर्वाधारको क्षेत्रमा केही बजेट कटौती भएको तर कृषिमा लगानी बृद्धिसँगै सामाजिक र आर्थिक क्षेत्रमा बजेट केन्द्रित भएको बताउनुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments