Sun. Sep 8th, 2024

पुष्पलालको योगदान अतुलनीय छ: मुख्यमन्त्री कार्की   

विराटनगर, २०८१ साउन ७ गते सोमबार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कम्युनिष्ट आन्दोलन र समाज रुपान्तरणमा पुष्पलाल श्रेष्ठको योगदान अतुलनीय रहेको बताउनुभएको छ ।

आज पुष्पलाल स्मारक समिति विराटनगरले आयोजना गरेको पुस्पलाल स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको वाम-लोकतान्त्रिक आन्दोलनमा पुष्पलालले खेलेको भूमिका र सङ्घर्षका कारण राजनीतिक परिवर्तन भएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको र एमालेले नै कम्युनिष्टहरुलाई एकता गरेर लाने मुख्यमन्त्री कार्कीले बताउनुभयो । वामपन्थी पार्टी र प्रजातान्त्रिक पार्टी मिलेर निरंकुशता ढाल्नुपर्छ भन्ने विचार पुष्पलालको भएको र सोही जगमा वि.सं. २०३६ को विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले भन्नुुभयो, “अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था राजनीतिक प्रणालीको उपज मात्र होइन परिवर्तनका लागि वामपन्थी र प्रजातान्त्रिक दल मिल्नु आजको आवश्यकता हो ।”

उहाँले योएकता र सहकार्यले संविधानलाई अझ परिस्कृत पार्दै राजनीतिलाई सङ्लो बनाउन सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा एक सय एक वर्षीय वामपन्थी कार्यकर्ता नरबहादुर लिम्बूलाई रु १० हजार नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा कविता प्रतियोगितामा प्रथम हुने मोरङकी कवि लक्ष्मी रायमाझी, द्वितीय हुने नुवाकोटका सुजन डोटेल तृतीय हुने विराटनगरकी रीता पाठक, सान्त्वना हुने सुनसरीका युवराज दाहाल र विराटनगरकी लक्ष्मी घिमिरे रेग्मीलाई पुरस्कार वितरण गरिएको थियो ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने कविहरूले क्रमश : रु पाँच हजार, तीन हजार, दुई हजार र एक-एक हजार नगद पुरस्कारका साथमा प्रमाणपत्र प्राप्त गर्नुभयो । रासस

Facebook Comments