Fri. Sep 20th, 2024

खानेपानीमन्त्रीद्वारा मेलम्चीको सुरुङ निरीक्षण   

काठमाण्डू, २०८१ साउन ५ गते शनिबार । खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ एवं खानेपानी प्रशोधन केन्द्र र त्यहाँको ल्याबको निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा मन्त्री यादवले काठमाण्डूका नागरिकलाई सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको थियो । उहाँले भन्नुभयो, “फोहर पानी कुनै पनि हालतमा काठमाण्डू नजाओस्, सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्नुहोला, काठमाण्डूमा सफा, शुद्ध र स्वच्छ पानी बाह्रै महिना वितरण गर्नका लागि आवश्यक सबै व्यवस्था गर्न मन्त्रालय प्रतिबद्ध छ ।”

वि.सं. २०७६ मा मेलम्चीमा आएको प्राकृतिक विपत्तिबाट क्षति भएको र मेलम्चीको पानी बाह्रै महिना काठमाण्डूमा वितरण गर्न समस्या भएको उल्लेख गर्दै मन्त्री यादवले समस्या समाधानसहित काठमाण्डू उपत्यकामा बाह्रै महिना कसरी पानी पठाउने भन्ने विषयमा सरकार गम्भीर भएर लागेको बताउनुभयो ।

काठमाण्डू वासीलाई सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न बिदाका दिनमा पनि काम गर्न उहाँले कर्मचारीहरूलाई आग्रह गर्नुभयो । मन्त्री यादवले भन्नुभयो, “उपकरणलगायत बजेटमा समस्या छ भने मलाई भन्नुस्, हामी दिन्छौँ तर काठमाण्डू वासीको स्वच्छ पानी खाने सपना पूरा गर्नुस् ।”  रासस

Facebook Comments