Sun. Jan 5th, 2025

रुसमा अमेरिकी पत्रकार गेर्शकोभिचलाई १६ वर्षको कारागार सजाय   

येकातेरिनबर्ग (रुस), २०८१ साउन ४ गते शुक्रबार । अमेरिकी संवाददाता इभान गेर्शकोभिचलाई शुक्रबार रुसको एक अदालतले ‘जासुसी’ गरेको आरोपमा १६ वर्षको कारागार सजाय सुनाएको छ ।

अदालतको उक्त फैसला तीन साताभन्दा धेरै गुप्त अदालती कारवाहीपछि आएको हो । यसलाई वासिङ्टनले ‘जालसाजी’ भनेको छ ।

पहिला नै दोषी ठहर नगरिएसम्म कैदीहरूलाई अन्तर्राष्ट्रियस्तरमा आदानप्रदान नगर्ने रुसको नीति छ । यसबाट सम्भावितरूपमा ३२ वर्षीय गेर्शकोभिचलाई एक सम्झौतामा अदलाबदली गर्न मार्ग प्रशस्त गर्दछ ।

न्यायाधीश आन्द्रेई मिनेयेभले भन्नुभयो, “उनलाई कठोर शासनको कोलोनीमा १६ वर्षका लागि कारागार सजाय सुनाइएको थियो ।”

कालो ट्राउजर र टि-सर्ट लगाउनुभएका गेर्शकोभिचले प्रतिवादीको कठघरामा उभिएर सजायप्रति कुनै प्रतिक्रिया व्यक्त गर्नुभएन । आफूलाई लैजाँदा उहाँले पत्रकार साथीहरूलाई हात हल्लाउनुभयो ।

आफूलाई निर्दोष बताउने वाल स्ट्रिट जर्नलका संवाददाता गेर्शकोभिच शीत युद्धपछि रुसमा जासुसीको आरोप लगाइएका पहिलो पत्रकार बन्नुभएको छ । उहाँलाई सन् २०२३ मार्चमा रुसी सहर येकातेरिनबर्गमा हिरासतमा लिइएको थियो ।

उहाँले संयुक्त राज्य सरकारको आरोपका आधारमा करिब १६ महिना हिरासतमा बिताउनुभयो । उहाँको रोजगारदाताले आरोपलाई मनगढन्ते भनेको छ ।

जर्नलका प्रकाशक अलमार लाटोर तथा प्रधान सम्पादक एम्मा टकरले एक विज्ञप्तिमा भन्नुभयो, “यो अपमानजनक, देखावटी सजाय इभानले एक पत्रकारका रूपमा आफ्नो काम गर्दा गलत तरिकाले हिरासतमा लिएको, आफ्नो परिवार र साथीहरूबाट टाढा राखेको, रिपोर्टिङ गर्न रोकेको र चार सय ७८ दिन कारागारमा बिताएपछि आएको हो ।”

प्रेस अधिकार समूह रिपोर्टर्स विदआउट बोर्डर्सले सजायलाई ‘अपमानजनक’ भन्दै गेर्शकोभिचलाई तुरुन्त रिहा गर्न आह्वान गरेको छ ।

वासिङ्टनले विदेशमा सजाय पाएका रुसीहरूको रिहाइलाई सुरक्षित गर्न गेर्शकोभिचलाई बार्गेनिङ चिपका रूपमा राखिएको विश्वास गरेको छ ।

जुनको अन्त्यमा भएको पहिलो सुनुवाइदेखि उहाँको मुद्दा तीव्र गतिमा अघि बढेको छ । अभियोजन र प्रतिरक्षा टोलीले शुक्रबार आफ्नो अन्तिम तर्क दिएका छन् ।

रुसमा यस्तै प्रकारका अन्य मुद्दाहरूको सुनुवाइ अन्यन्त सुस्त गतिमा हुने गरेको छ । सुनुवाइका बीचमा धेरै साता र यहाँसम्म कि महिनौँ लाग्ने गरेको छ ।

शुक्रबार प्रश्न गर्दा क्रेमलिनले कैदीहरूको अदलाबदलीको सम्भावनाबारे अडकलहरूमा सहभागी हुन अस्वीकार गरेको छ ।  एएफपी

Facebook Comments