Tue. May 21st, 2024

नेशनल अस्पताल सिल गर्ने तयारी, घटनाको छानबिन हुने

वीरगञ्ज, २०७७ जेठ १२ गते सोमबार

मृत्य भएर दाहसंस्कारसमेत गरिसकिएका  ७० वर्षीय वृद्धमा कोरोना पोजिटिभ पाइएलगत्तै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी नेशनल अस्पताल सिल गर्ने तयारी गरेको छ । साथै अन्य कन्ट्याक्ट ट्रेसिङको पनि काम गर्ने तयारी सुरु गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनु भयो ।

कोरोना आशङ्कामा स्वाब परीक्षण गरेर रिपोर्ट नै नआएको खण्डमा नेशनल मेडिकल कलेजले शव परिवारलाई दिएर गम्भीर लापरबाही गरेको स्थानीयको गुनासो छ । सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले पनि शव दिइनुले अस्पतालको कमजोरी देखिएको र त्यस सम्बन्धमा छानबिन सुरु गरिएको बताउनुभयो ।

गोरखापत्र अनलाईनका अनुसार अस्पतालले आइसियू प्यूरिफिकेसन गर्ने भन्दै वार्डमा रहेका २० बिरामीलाई अन्यत्र स्थानान्तरण गरी जेठ ९ गतेदेखि आईसियू वार्ड खाली राखेको छ । सोमबारदेखि प्रहरीले अस्पतालमा बाहिरबाट अस्पतालभित्र कसैलाई पनि प्रवेश गर्न दिएको छैन । रिपोर्ट पोजिटिभ आएको खबर पाएलगत्तै मेडिकल कलेजमा बाहिरबाट मानिसलाई छिर्न नदिन मातहतका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय, पर्साले निर्देशन दिइसकेको बताइएको छ ।

मृतक वृद्धको उपचारमा संलग्न मेडिकल कलेजका स्वास्थ्यकर्मी र मृतकका परिवारका सदस्य, अन्त्येष्टिमा संलग्न सबैलाई तत्कालै क्वारेन्टाइनमा राख्न भनिएको र उनीहरूको स्वाब सङ्कलन गरी परीक्षण गर्ने तयारी गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताउनुभयो ।

वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएका ७० वर्षीय चौधरी थरका पुरुषमा मृत्यु भएको आठ  दिनपछि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हाे । जेठ २ गते अस्पतालमा उपचारका लागि भर्ना भएका ती पुरुषको जेठ ४ गते दिउँसो साढे २ बजे नै उपचारको क्रममा मृत्यु भएको र ४ बजे अन्त्यष्टिको लागि शव परिवारजनलाई जिम्मा लगाइएको थियो ।

नारायणी अस्पतालमा केमिकल अभावमा पिसिआर परीक्षण रोकिएको र ८ गते स्वाब परीक्षण गरिदा शङ्स्कास्पद लागेपछि सुनिश्चितताका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठमाण्डौँमा पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताउनुभयो ।

क्षयरोग, दम र निमोनियाबाट ग्रसित जनस्वास्थ्य कार्यालयको सेवानिवृत कर्मचारी ती ७० वर्षीय वृद्धलाई उनका परिवारजनले जेठ २ गते नेशनल मेडिकल कलेजको भेन्टिलेटरमा भर्ना गराएर उपचार शुरु गरेका थिए । आइसीयूमा भेन्टीलेटरमा राखेर उपचार शुरु गर्नुअघि स्वाब सङ्कलन गरेर कोरोना परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको भएपनि कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते वृद्धको मृत्यु भएको थियो ।

बारा करैया गाउँपालिका वडा नं ७ का उपचारको क्रममा मृत्यु भएका उक्त ७० वर्षीय वृद्धको अन्तिम संस्कार गरिएको ६ दिनपछि कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछि मृतकका छोराले अस्पतालले बुबाको शव दिएपछि आफूहरूले धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरेको बताउनुभयो । ‘अस्पतालले भनेको भए रिपाेर्ट आउञ्जेल कुर्न सकिन्थ्याे नि, अस्पतालका कारण घरपरिवार, गाउँ, टोल सबैतिर भाइरस सङ्क्रमणको जोखिम बढ्यो ।’ मृतकका छाेराले भन्नुभयाे ।

Facebook Comments