Tue. Sep 17th, 2024

बाढीका कारण कञ्चनपुरमा एक हजार छ सय २२ जना प्रभावित   

दोधारा चाँदनी (कञ्चनपुर), २०८१ असार २४ गते सोमबार । लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको केही जमिन डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भू-भागलाई प्रभावित बनाएको छ । महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका-१० को तीन बस्ती डुबानमा परेका छन् । जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन् ।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेकोे छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जिल्लाभर बाढीबाट प्रभावित एक हजार छ सय २२ जना को उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो । “बाढीले जिल्लाका अधिकांश बस्ती डुबानमा परेका छन्” उहाँले भन्नुभयो, “डुबानबाट प्रभावितलाई नजिकै विद्यालय र आफन्तकोमा सारिएको छ ।”

त्यसैगरी उहाँले बाढीमा परी कृष्णपुर नगरपालिकाको वडा-१ पोतीपुरमा सात महिनाका शिशु सोलु धानुकको मृत्यु भएको बताउनुभयो । प्रवक्ता जोशीले भन्नुभयोले भन्नुभयो, “घरमा सुतेको अवस्थामा बाढी पसेपछि डुबेर शिशुको मृत्यु भएको छ ।” निरन्तर वर्षा भइरहेका कारण अझै केही परिवार विस्थापित हुने अवस्थामा पुगेका जनाइएको छ । रासस

Facebook Comments