Sun. Oct 6th, 2024

काठमाण्डू उपत्यकासहित देशैभर निरन्तर वर्षा, तराईमधेसमा डुबान, जनजीवन प्रभावित

मनाङ सदरमुकाम चामे बजार बीचबाट बगेको घट्टेखोलामा बाढी आएको छ भने उता मर्स्याङदी नदीको पानीको सतह बढ्दा चामे बजारको अवस्था । तस्बिर: नवीन लामिछाने/रासस

भिओके समाचार/काठमाण्डू, २०८१ असार २२ गते शनिबार । काठमाण्डू उपत्यकासहित देशैभर गएरातीदेखि निरन्तर वर्षा भैरहको छ ।

विगत १६ घण्टादेखि परेको निरन्तर वर्षाका कारण काठमाण्डू उपत्यकाका बागमती, विष्णुमती, धोवी खोला, मनहरा, हनुमन्ते लगायतका खोलाहरुमा पानीको बहाव उच्च भएको छ । अवरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाट, सूर्यविनायकको राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायतका क्षेत्र डुबानमा परेका हुन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पाटन तल ओरालोमा शनिबार वर्षाका कारण गएको पहिरो । तस्बिर : कृष्ण न्यौपाने/रासस

वर्षायाममा भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते खोला किनारका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारको जडीबुटीस्थित सुकुम्बासी बस्तीलगायतका क्षेत्र डुबानमा पर्दै आएका छन् । ति क्षेत्रका बासिन्दालाई सचेत र सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ ।

काठमाण्डू उपत्यकाका खोलाहरुमा जलसतह बढेपछि सुरक्षा निकाय सतर्क रहेका छन् । काठमाण्डू उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालेको जानकारी दिनुभयो ।

अविरल वर्षा र त्यसपछि आएको हापुरखोलाको बाढीले कटान गर्दै गरेको दाङको घोराही उपमहानगरपालिका-९ स्थित अस्पारा गनारको खेतीयोग्य जमिन । तस्बिर: कुलदीप न्यौपाने/ रासस

अर्घाखाचीमा वर्षासँगै आएको पहिराले गोरुसिङ्गे सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ । सन्धिखर्क–६ दहखोला र बहोखरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीतसिंह राठोरले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो पन्छाउने कार्य भइरहेको छ । अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । दुई दिनदेखिको निरन्तर वर्षाका कारण उक्त करिडोरको बागलुङ र पर्वत खण्डमा सडक अवरुद्ध भएको हो । बागलुङको जैमिनी नगरपालिका–बिनामारे क्षेत्रमा पहिरो झर्दा करिडोर अवरुद्ध भएको हो ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङ सुन्दरबजारको खहरे खोलामा निर्माणाधीन पुल समयमै सम्पन्न हुन नसक्दा बर्खा लागेपछि बाढीको कारण सडक अवरुद्ध । यस सडक हुँदै पोखरा, चितवन, काठमाडौँलगायतका विभिन्न ठाउँहरुमा यात्रा गर्ने यात्रुहरु बिहानैदेखि अलपत्र परेका छन् । तस्बिरः विराट न्यौपाने/रासस

अविरल वर्षाले पहिरो खस्दा म्याग्दीलाई राष्ट्रिय राजमार्ग, सदरमुकाम बेनीलाई ग्रामीण क्षेत्र र मुस्ताङसँग जोड्ने सडक अवरुद्ध भएका छन् । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा खसेको पहिरोले म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक अवरुद्ध भएको । यो सडक अवरुद्ध हुँदा म्याग्दीदेखि प्रदेशको राजधानी पोखरा जाने आउने सवारीसाधनले बागलुङ-बेनी वैकल्पिक सडक प्रयोग गरेका छन् ।

बाढीका कारण अवरुद्ध भएको बिपी र अरनिको राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएका छन् । निरन्तर वर्षाका कारण सडक माथिबाट लेदोसहित आएको बाढीका कारण आज बिहानदेखि दुवै राजमार्ग अवरुद्ध भएकोमा प्रहरी र स्थानीय जनप्रतिनिधिको पहलमा एकतर्फी रुपमा सञ्चालनमा आएका हुन् ।

भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सूर्यविनायकस्थित बाराहीस्थानका विद्यालय र बस्तीमा पसेको छ । तस्बिर : रमेश गिरी / रासस

अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ । बिहीबार रातिदेखि निरन्तर आइरहेको पानीले सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ । स्याङ्जा–वालिङ सडकको भीरकोट–४ छाङ्छाङ्दी नजिक आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

अविरल बर्षाकै कारण तराई मधेसका विभिन्न क्षेत्रहरु डुबानमा परेका छन् । दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ । बाढीले आज बिहान उक्त डाइभर्सन बगाएको हो । सो ठाउँमा आवतजावत ठप्प छ । जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

गए रातिदेखि लगातार परेको वर्षाले पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । महानगरपालिकाको छपकैया बजार, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायतका ठाउँ डुबानमा परेका छन् ।

अविरल वर्षाका कारण मोरङको बेलबारी, विराटनगर, झोराहाट, सुनसरीको इनरुवा, इटहरी लगायतका बजारहरु पनि जलमग्न भएका छन् । यस वर्ष गत वर्षको तुलनामा बढी वर्षा हुने भएकाले नदी र खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान कार्यालय धरानका प्रमुख रुद्रबहादुर परियारले यस वर्ष औसतभन्दा बढी पानी पर्ने भएकाले कोशी प्रदेश र मधेश प्रदेशका नदी र खोलानाला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गर्नुभएको छ । अविरल बर्षाका कारण कोशी नदीको जलसतह उच्च भएको छ । सप्तकोशी नदीका सहायक नदीहरुमा पानीको बहाल बढेसँगै सप्तकोशी नदीको बराहक्षेत्र, चतहरा, चक्रघट्टी, कोशी ब्यारेज लगायतका क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

गएरातिदेखि भएको भारी वर्षाका कारण शनिबार दाङको घोराही उपमहानगरपालिका-१८ स्थित बालुवाटारका स्थानीयवासीको घरभित्र पसेको भल । तस्बिर:कुलदीप न्यौपाने/रासस

मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानामा समेत वर्षा भइरहेको छ ।

आज दिउँसो पनि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोशी र मधेश प्रदेशका केही र बाँकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अविरल वर्षाका कारण देशका विभिन्न भागमा सञ्चालन हुने हवाई उडान मध्ये केही उडान समेत प्रभावित भएका छन् ।

Facebook Comments