Mon. Dec 23rd, 2024

भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो   

हाथरस, भारत, २०८१ असार १९ गते बुधबार । उत्तरी भारतमा आयोजित हिन्दु धार्मिक सभामा मङ्गलबार भएको घातक भागदौडका कारण घाइते भएका थप २४ व्यक्तिको मृत्युसँगै बुधबारसम्ममा मृत्यु हसनेको सङ्ख्या १२१ पुगेको छ ।

प्रहरी प्रतिवेदन अनुसार भारतको उत्तर प्रदेश राज्यमा भएको सभामा दुई लाख ५० हजारभन्दा बढी धर्मावलम्बीहरूले भाग लिएका समय एक्कासी भागदौड हुँदा ठूलो सङ्ख्यामा हताहत भएको थियो ।

घटनाको केही समयपश्चात बुधबार बिहान फ्याँकिएका कपडा र हराएका जुत्ताहरू राजमार्गको छेउमा रहेको खुला मैदानमा छरिएका भेटिएको थियो ।

अधिकारीहरूका अनुसार उपासकहरूले प्रचारकको पाइलाबाट माटो सङ्कलन गर्ने प्रयास गर्दा भागदौड सुरु भएको बताएका छन् भने कतिपयले धुलोको आँधी आउँदा मानिसहरूबीच भागदौड मच्चिएको बताएका छन् ।

“महिला र बालबालिकासहित सम्पूर्ण भीड एकैचोटि कार्यक्रम स्थलबाट निस्किए । सभामा पर्याप्त ठाउँ थिएन र मानिसहरू एकअर्कामाथी थिचिएका थिए,” सुरक्षा सेवामा खटिनुभएका प्रहरी अधिकारी शीला मौर्यले बताउनुभयो ।

धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को ढलेर र केही मानिस भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको थियो ।

मृत्यु हुनेमा सात बालबालिका, एक पुरुष र बाँकी सबै महिलाहरु रहेका थिए ।

उत्तर प्रदेशको राज्य विपद् व्यवस्थापन केन्द्र, राहत आयुक्तको कार्यालयले बुधबार बिहान मृतकको सूची जारी गरेको छ । यसले घटनामा १२१ जनाको मृत्यु भएको बताएको छ । एएफपी

Facebook Comments