Sun. Sep 29th, 2024

महाधिवेशनको दस्तावेज टुङ्गो लगाउन सचिवालय बैठक आह्वान   

काठमाण्डू,२०८१ असार १२ गते बुधबार । नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशनमा छलफल गरिने दस्तावेजमा अन्तिम टुङ्गो लगाउन यही असार १३ गते सचिवालय बैठक आह्वान गरेको छ ।

केन्द्रीय कार्यालयमा दिउँसो आह्वान गरिएको बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजको टुङ्गो लगाइने छ । पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी, विभिन्न दस्तावेज अनुमोदन तथा प्रतिनिधिको नामवली स्वीकृत, मातहतका कमिटीको कार्य प्रगतिको समीक्षा गरिने स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो ।

यही असार १६ देखि २० गतेसम्म काठमाण्डूको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका आधारमा नयाँ नेतृत्व चयन गर्ने छ । यसैबीच एकीकृत समाजवादीले आसन्न राष्ट्रिय महाधिवेशनमा करिब दुईसय स्वयंसेवक परिचालन गरिने जनाएको छ । पार्टी निकट राष्ट्रिय खेलकुद महासङ्घ, मजदुर सङ्गठन र भूतपूर्व सुरक्षाकर्मीलाई समावेश गरी स्वयंसेवक परिचालन कमिटी गठन गरिएको हो ।

स्वयंसेवकहरुलाई महाधिवेशनस्थलको व्यवस्थापन, प्रतिनिधि तथा विशिष्ट नेताको सुरक्षा, प्रतिनिधिलाई आवाससम्म लैजाने र ल्याउने, भीड व्यवस्थापन, शुभकामना दिन आउने विभिन्न पार्टीका नेतागण, पर्यवेक्षकलगायतको सुरक्षा व्यवस्थापनको जिम्मा दिइएको कमिटी संयोजक केशव विष्टले जानकारी दिनुभयो । पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समिति मातहतका अन्य १३ कमिटीलाई सम्पूर्ण काम महाधिवेशन केन्द्रित गर्न भनिएको छ । उक्त समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

पार्टी तथा जनसङ्गठनका सबै तहका कमिटीले सम्पूर्ण कामलाई महाधिवेशन केन्द्रित गर्ने र महाधिवेशन प्रभावित हुने गरी पार्टी सङ्गठनका कुनै गतिविधि नगर्न निर्देशन दिइएको छ । पार्टीले देशभरबाट एक हजार आठसय ४९ प्रतिनिधि छनोट गरेको छ । छनोट गरिएका प्रतिनिधिको कूल सङ्ख्याको पाँच प्रतिशतअर्थात् ९५ जना प्रतिनिधि मनोनयन गर्ने व्यवस्था छ । केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने जनाइएको छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट तीन वर्षअघि विद्रोह गरी गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ । वि.सं. २००६ मा कोलकातामा स्थापना भएको कम्युनिष्ट पार्टीको राजनीतिक उत्तराधिकारी मानेको पार्टीले अहिलेसम्म सम्पन्न भएका नौवटा अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको छ । रासस

Facebook Comments