Mon. Dec 23rd, 2024

असान्जको लामो कानुनी सङ्घर्ष समाप्त भएसँगै अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा खुसी व्यक्त   

 क्यानबेरा, २०८१ असार १२ गते बुधबार । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनिजले बुधबार अमेरिकासँग भएको सम्झौताका कारण विकिलिक्सका संस्थापक जुलियन असान्जको लामो कानुनी सङ्घर्ष समाप्त भएकोमा खुसी व्यक्त गर्नुभएको छ ।

अमेरिकाको सपुर्दगी विरुद्ध लन्डनको उच्च सुरक्षा भएको बेलमार्श जेलमा पाँच वर्षभन्दा बढी समय बिताएपछि असान्ज आफ्नो गृह देश अष्ट्रेलिया फर्कने उडानमा हुनुहुन्छ ।

अष्ट्रेलियाका ५२ वर्षीय नागरिक असान्जले अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी गोप्य सुचना प्राप्त र प्रसार गरेको अभियोग लगाइएको हो ।

“म अत्यन्त खुसी छु । यो परिणाम अत्यधिक अष्ट्रेलियालीहरूले हेर्न चाहेको म विश्वास गर्दछु । असान्जको सङ्लग्नता र गतिविधिको बारेमा सबैको फरक-फरक विचार छन् तर उनीहरू यस लामो कानुनी गाथाको अन्त्य भएकोमा र आफ्नो परिवारसँग पुनर्मिलन गर्न सक्षम भएकोमा खुसी हुनेछन्,” प्रधानमन्त्री अल्बानिजले संसदमा भन्नुभयो ।

अपिल सम्झौता अनुरुप बुधबार प्रशान्त महासागरमा अवस्थित उत्तरी मारियाना आइल्याण्डको अदालतले असान्जलाई षडयन्त्रसम्बन्धी एउटा मात्र मुद्धामा दोषी ठहर गरेको र तत्काल रिहा गर्ने आदेश दिएको छ । उहाँलाई अदालत पहिले नै जेलमा बिताइसकेको अवधिको सजाय सुनाएको हो । अदालतको फेसलापछि उहाँ स्वतन्त्र रुपमा आफ्नो देश फर्कने हुनुभएको छ ।

असान्जको मुद्दाको समाधान धैर्य र दृढ कामको परिणाम हो र यस कामप्रति म गर्व गर्छु“ अल्बानिजले भन्नुभयो । एएफपी

Facebook Comments