Thu. Jan 9th, 2025

नेकपा (एकीकृत समाजवादी)को महाधिवेशनका लागि १ हजार ८ सय प्रतिनिधि छनोट

काठमाण्डू, २०८१ असार ८ गते शनिबार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार आठ सय प्रतिनिधि छनोट गरेको छ ।

यही असार १६ देखि २० गतेसम्म काठमाण्डूमा आयोजना हुने महाधिवेशनका लागि ७७ वटा जिल्ला र विभिन्न सङ्गठनबाट १ हजार ८ सय प्रतिनिधि छानिएको पोलिटब्युरो सदस्य दिलु पन्तले  जानकारी दिनुभयो । पन्तका अनुसार महाधिवेशनका लागि १ हजार ८ सय ४९ जना प्रतिनिधिको व्यवस्था गरिएकोमा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट बाँकी छ ।

अधिकांश स्थानमा सर्वसम्मतरुपमा प्रतिनिधि छनोट भएको जनाउँदै पन्तले केही ठाउँमा मात्रै निर्वाचन प्रक्रियाबाट छनोट गरिएको जानकारी दिनुभयो । पन्तका अनुसार महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब ४ सय ५० जना केन्द्रीय नेता स्वतः प्रतिनिधि हुनेछन् । यसअघि केन्द्रीय नेता पनि चुनिएर आउनपर्ने निर्णय गरिएकोमा उक्त व्यवस्थालाई संशोधन गरी केन्द्रीय तहका नेता स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएको थियो । छनोट गरिएका प्रतिनिधिको कूल सङ्ख्याको ५ प्रतिशत अर्थात ९५ जना मनोनयन गर्ने व्यवस्था छ । केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने पार्टी कार्यालयले जनाएको छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको जनाउँदै यसका सदस्य एमालेकै निरन्तरताबाट आएकाले दशौँ महाधिवेशन गर्न लागिएको पोलिटब्युरो सदस्य पन्तले बताउनुभयो । पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । सङ्घीय संसद्मा १० जना र राष्ट्रियसभामा ८ जना सदस्य रहेको सो पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेको छ ।

Facebook Comments