Sat. Oct 19th, 2024

रास्वपाको स्थापना दिवसमा प्रधानमन्त्रीलगायत शीर्ष नेता सहभागी   

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दोस्रो स्थापना दिवसको अवसरमा शुक्रबार पार्टीको केन्द्रीय कार्यालय काठमाण्डूमा आयोजित चियापान समारोहमा । तस्रराम भेटुवाल/रासस

काठमाण्डू, २०८१ असार ७ गते शुक्रबार । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो वार्षिकोत्सवका अवसरमा आज चियापान समारोहमा सहभागी हुनुभएको छ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दोस्रो स्थापना दिवसको अवसरमा पार्टीको केन्द्रीय कार्यालय काठमाण्डूको वनस्थली चःमतीमा शुक्रबार आयोजित चियापान समारोहमा सहभागी हुँदै । तस्बिर : हरिराम भेटुवाल/रासस

रास्वपाको केन्द्रीय कार्यालय वनस्थली, चमतिमा आयोजित चियापान समारोहमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उपसभामुख इन्दिरा राना उपस्थित हुनुहुन्थ्यो ।

चियापान समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई पनि सहभागी हुनुहुन्थ्यो । यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायत विभिन्न दलका नेता तथा मन्त्री पनि समारोहमा सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दोस्रो स्थापना दिवसको अवसरमा शुक्रबार पार्टीको केन्द्रीय कार्यालय काठमाण्डूमा आयोजित चियापान समारोहमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्दै पार्टी सभापति उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने । तस्बिर : हरिराम भेटुवाल/रासस

सो अवसरमा रास्वपा सभापति तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पाहुना तथा आगन्तुकलाई स्वागत गर्नुभएको थियो । उहाँले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै जनअपेक्षाअनुसार काम गर्न रास्वपा प्रयासरत रहेको बताउनुभयो ।

“सरकार चलाउने आधारहरु अहिले बनेका छन् । आमनागरिकको अपेक्षा ठूलो छ । ती अपेक्षा परिपूर्ति गर्न हामीलाई ठूलो चुनौती छ । हामी प्रयासरत छौँ”, सभापति लामिछानेले भन्नुभयो ।

रास्वपा प्रतिनिधिसभामा २१ सांसदसहित सङ्घीय संसद्को चौथो ठूलो पार्टी हो । रास्वपाको स्थापना २०७९ असार ७ गते भएको हो । रासस

Facebook Comments