Sat. Sep 28th, 2024

चिनियाँ उच्च शैक्षिक प्रदर्शनी सम्पन्न

रमेश हतुवाली/काठमाण्डू, २०८१ असार ५ गते बुधबार । उच्च शिक्षा अध्ययनका लागि काठमाण्डूमा मंगलबार आयोजना गरिएको एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी भव्य रुपमा सम्पन्न भएको छ ।

चीनको उच्चतहको शैक्षिक अवस्थाबारे नेपाली विद्यार्थी र तिनका अभिभावकहरुलाई जानकारी गराउने उद्देश्यले चीनको छात्रवृति परिषद् र नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्यमा नेपाल–चीन सास्कृतिक तथा शैक्षिक परिषद्ले सो प्रदर्शनी आयोजना गरेको थियो ।

सो प्रदर्शनी उद्धघाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र चीनका विभिन्न विश्वविद्यालयहरुबीच लामो समयदेखि सहयोग र सहकार्य हुँदै आएको बताउनुभयो । मन्त्री श्रेष्ठले नेपाल र चीनबीचको शैक्षिक सहयोग र जनस्तरको सम्बन्धलाई अघि बढाउन शैक्षिक प्रदर्शनी कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्रमन्त्री

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चीनमा झण्डै २,५०० नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिनुहुँदै नेपालमा अध्ययन, अध्यापन गर्न आउने चिनियाँ विज्ञ, विश्वविद्यालयका विद्यार्थी र अन्तर्राष्ट्रिय चिनियाँ शिक्षा स्वयंसेवकको संख्या निरन्तर बढिरहेको बताउनुभयो ।

छन् सोङ, नेपालका लागि चिनियाँ राजदूत, तस्विर: रमेश हतुवाली

चीनको छात्रवृति परिषद्का उपमहासचिव चाङ च्यूनले चीन र नेपालबीच परम्परागत मित्रता र मैत्रीपूर्ण सहयोगको विकास हुँदै आएको बताउनु भयो । प्रदर्शनीमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्नुहुँदै उपमहासचिव चाङले शैक्षिक प्रदर्शनीमा नेपाली विद्यार्थी र उनीहरुका अभिभावकहरुले देखाएको उत्साहले आफुलाई प्रोत्साहन मिलेको जानकारी दिनुभयो । शैक्षिक प्रदर्शनी भव्य र उल्लासमय वातावरणमा सम्पन्न भएको उपमहासचिव चाङको भनाइ छ ।

चाङ च्यून, उपमहासचिव, चीन छात्रवृति परिषद्, तस्विर: रमेश: हतुवाली

नेपाल–चीन सांस्कृतिक शैक्षिक परिषद्का अध्यक्ष डा. हरिश्चन्द्र साहले प्रदर्शनीको माध्यमबाट चीनका विभिन्न विश्व विद्यालयहरूका बारेमा राम्ररी बुझ्ने अवसर मिल्ने बताउनु भयो । 

डा. हरिश्चन्द्र शाह, अध्यक्ष, नेपाल-चीन सांस्कृतिक शैक्षिक परिषद्

फोटो सर्वाधिकार: भ्वाईस अफ काठमाण्डूका लागि रमेश हतुवाली ।

Facebook Comments