Mon. Dec 23rd, 2024

राष्ट्रपतिको स्विटजरल्यान्ड-जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान   

काठमाण्डू,२०८१ असार ४ गते मंगलबार । राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै सम्पन्न स्विटजरल्यान्डको भ्रमण र जारी सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणले यी दुई मुलुकसँग नेपालको सम्बन्ध विस्तार तथा नवीकरणमा महत्वपूर्ण योगदान पुगेको छ ।

हाल बर्लिनमा रहनुभएका राष्ट्रपति पौडेललाई जर्मनी सरकारले गरेको भव्य स्वागत र न्यानो आतिथ्यताले नेपालप्रति जर्मनीको सद्भाव प्रतिविम्बित भएको छ । त्यहाँका राष्ट्रपति डा फ्राङ्क-वाल्टर स्टाइनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही असार १ गते जर्मनी भ्रमणमा जानुभएको हो । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति डा स्टाइनमेयरबीच सोमबार भएको द्विपक्षीय वार्तामा जर्मनी सरकारले खुलेर सहयोग गर्ने वचन दिनुले पनि नेपालप्रतिको जर्मनीको सद्भाव दर्शाएको छ । भेटवार्तामा दुवै राष्ट्रपतिले विकास सहयोग, व्यापार, पर्यटन, लगानी र व्यावसायिक तालिममा केन्द्रित रहेर समग्र द्विपक्षीय सम्बन्धको समीक्षा गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले आफ्नो देशको कृषि, पर्यटन, जलस्रोतलगायत विकासका प्राथमिकतालाई प्रकाश पार्दै यी क्षेत्रमा जर्मनीको सहयोग र लगानीलाई प्रोत्साहन गर्नुभएको थियो ।
राष्ट्रपति पौडेलले आफ्ना जर्मन समकक्षीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको छ । जर्मनीको एकीकरण तथा नेपालमा प्रजातन्त्र पुनःस्थापना एकै वर्ष भएको उल्लेख गर्दै आफूले त्यसबेला स्थानीय विकासमन्त्रीका रुपमा जर्मनको भ्रमण गरेको स्मरण गर्नुभएको थियो ।

भ्रमणले नेपाल-जर्मनीबीचको द्विपक्षीय सम्बन्ध मात्र नभई सम्पूर्ण युरोपमा नै नेपालको कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान पुगेको विश्वास गरिएको छ । राजनीतिक विश्लेषक डा. चन्द्रदेव भट्टले नेपालबाट लामो समयपछि जर्मनीमा भएको राष्ट्रप्रमुख तहको भ्रमणलाई महत्वका साथ हेर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय युरोपसँग हाम्रो सम्बन्धमा अपेक्षाकृत प्रगाढ हुन सकेको छैन, व्यक्तिगत रुपमा सम्बन्ध बढ्दै गए पनि सरकारका तर्फबाट जुन ‘इन्गेजमेन्ट’ हुनुपर्ने हो, त्यो हुन सकेको छैन । यस्तो अवस्थामा भएको उच्चस्तरीय भ्रमणले सम्बन्धलाई नवीकरण गर्छ ।”

जर्मन विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको र युरोपको शक्तिशाली मुलुक भएकाले त्यससँग सम्बन्ध बढाइराख्नुपर्ने बताउँदै राजनीतिक विश्लेषक भट्टले त्यहाँ नेपालको उपस्थिति सुदृढ बनाउनुपर्ने सुझाव दिनुभयो । राष्ट्रपति पौडेलले यसै भ्रमणका क्रममा यस अघि स्वीट्जरल्याण्डका राष्ट्रपति भिओला आमहर्डसँग जेठ ३० गते द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।
परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराईले पनि लामो समयपछि नेपालबाट भएको उच्च तहको भ्रमणले दुई देशबीच विश्वासको वातावरण थप मजबुत बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जर्मनी नेपालको घनिष्ठ मित्र हो । जर्मनीका समाजवादी नेता र पार्टीसँग नेपालको विशेष सम्बन्ध छ । जर्मनीका पूर्वचान्सलर तथा सोसियल डेमोक्र्याटिक पार्टीका नेता विली ब्राण्ड र बिपी कोइरालाबीच निकटता थियो ।”
राष्ट्रप्रमुख तहको भ्रमण आफैमा अर्थपूर्ण र महत्वपूर्ण भएको उल्लेख गर्दै पूर्वराजदूत भट्टराईले यस भ्रमणबाट भविष्यमा सहयोगका क्षेत्र विस्तार हुने बताउनुभयो । साथै नेपालले हस्तकलाका वस्तु र गलैचालगायत निर्यातका साथै पर्यटन प्रर्वद्धन गरी उल्लेख्य लाभ जर्मनीबाट लिन सक्ने बताउनुभयो । नेपालबाट जर्मनीमा राष्ट्रप्रमुखको तहमा सन् १९८६ पछि यो भ्रमण पहिलो पटक भएको हो । राष्ट्रपति परराष्ट्रमामिलाविज्ञ डा .सुरेशचन्द्र चालिसेले नेपालबाट ३८ वर्षपछि भएको यो भ्रमणले द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विश्वको तेस्रो ठूलो अर्थतन्त्र र युरोपको प्रभावशाली मुलुक जर्मनीको यो भ्रमणले नेपालमा लगानी र व्यापार वृद्धि गर्न टेवा पुग्ने उल्लेख गर्नुभयो । राष्ट्रपतिसँगै भ्रमणमा रहनुभएका डा चालिसेले टेलिफोनमा भन्नुभयो, “जर्मनी नेपालको मुख्य विकास साझेदार मुलुक भएको र द्विपक्षीय सम्बन्धमा हालसम्म कुनै उतारचढाव छैन । सन् २०१५ को भूकम्प र कोभिड-१९ का बेला पनि जर्मन सरकारले उल्लेख्य सहयोग गरेको थियो ।”
नेपाल र जर्मनीबीच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा विकसित भएको छ ।
दुई देशबीच विभिन्न तहमा हुने भ्रमणले पारस्परिक सम्बन्धलाई थप घनिष्ठ र सौहार्दपूर्ण बनाउन सहयोगी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताउनुभयो । उहाँले भन्नुभयो, “जर्मनीको लगानी र प्रविधि नेपालमा भित्र्याउन राष्ट्रप्रमुखको तहमा भएको यो भ्रमणबाट सहयोग पुग्नेमा आफू विश्वस्त छौँ । जर्मनीले जलवायु परिवर्तनका असरबाट बच्न अनुकूलनको राम्रो अध्ययन र अभ्यास गरेको छ, यसबाट पनि नेपालले सिक्ने धेरै विषय छन् ।”   भीष्मराज ओझा /रासस

Facebook Comments