Mon. Nov 25th, 2024

ताप्लेजुङमा बाढी पहिरोबाट दार्जनौँ परिवार विस्थापित   

फुङ्लिङ (ताप्लेजुङ), २०८१ असार २ गते आईतबार । निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् ।

गत बुधबार यता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुरियाउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् । गएराति मिक्वाखोला गाउँपालिका-५ ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताउनुभयो ।

प्रहरीका अनुसार शनिबार पहिरो जाँदा मिक्वाखोला-५ पापुङमा तीन परिवार विस्थापित भएका छन् । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार पापुङ, ताङ्खु टोलका आइतवीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएको छ ।

बिहान वर्षासँगै माथिबाट झरेको पहिरोले बस्न नमल्निे गरी घरमा क्षति पुरियाउँदा उहाँहरुको परिवारले विस्थापित हुनु परेको प्रनाउ रावलले जानकारी दिनुभयो ।

यस्तै, सिरिजङ्घा गाउँपालिका-६ मामाङ्खेमा शनिबार गएको पहिरोले छ परिवार विस्थापित भएका छन् । मामाङ्खे थत्रुवाका गोरीमाया लिम्बू, पूर्णकुमार माबो र भीममाया गुरुङको परिवारले विस्थापित हुनुपरेको छ । मामाङ्खेकै थबाबुकका ख्यालमान लिम्बू र वीरबहादुर लिम्बू, आगेगाउँका चन्द्रबहादुर लिम्बूको परिवार विस्थापित भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार वर्षासँगै गएको पहिरोले सिरिजङ्घा-७ मा नवराज लिम्बूको घर, भान्सा घर र पशुचौपाया गरी रु १६ लाख ९० हजार क्षति भएको छ । त्यस्तै, शुक्रराज लिम्बूको घर पूर्णरुपमा क्षति र पशुचौपाया गरी रु १० लाख ८० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सिरिजङ्घा-८ याम्फुदिनको साम्मेधुङ टोलका पदम माबो, कीर्तिमान लिम्बू, राजबहादुर लिम्बू र छिरिङ भोटेको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । पहिरोले खानेपानीमा क्षति पुरियाउँदा मामाङ्खेका करिब तीन सय परिवार खानेपानीबाट वञ्चित हुनु परेको पनि स्थानीयले जानकारी दिएका छन् ।

यसैगरी, याम्फदिनमा पनि दर्जनभन्दा बढी परिवार बाढीपहिरोको उच्च जोखिममा रहेका स्थानीय जनप्रतिनिधि सन्तोष राईले जानकारी दिनुभयो । गत बुधबारयता ताप्लेजुङमा पहिरोमा परी पाँचजनाको मृत्यु भइसकेको छ । त्यस्तै, ५५ पशु चौपाया मरेका छन् ।

मनसुन पूर्णरुपमा सक्रिय नहुँदै बाढीपहिरोले मानवीयसहित पशुचौपाया, खेतीबाली, सडक, पुल, खानेपानीलगायत संरचनामा क्षति गर्न थालेकाले जिल्लावासी त्रसित बनेका छन् । ताप्लेजुङको भूबनावट पहिरोको जोखिम पर्ने जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार यहाँका ६१ मध्ये ४१ वडा पहिरोको उच्च जोखिममा पर्दछन् । रासस

Facebook Comments