Tue. Jun 18th, 2024

देशमा सबै प्रकारका भेदभाव निर्मूल नभएसम्म लोकतन्त्रको संस्थागत विकास हुँदैनः अध्यक्ष यादव   

जनकपुरधाम, २०८१ जेठ ३२ गते शुक्रबार । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मुलुकमा रहेका जातीय, क्षेत्रीय तथा सबै प्रकारका भेदभाव निर्मूल नभएसम्म लोकतन्त्रको संस्थागत विकास नहुने बताउनुभएको छ ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनपश्चात आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले देशमा रहेका सबै प्रकारका विभेद अन्त्यका लागि आफ्नो पार्टी निरन्तर आन्दोलनमा रहने बताउनुभयो ।

उहाँले पार्टीको महाधिवेशन राज्यमा सबैको पहुँच, समान व्यवहार तथा अधिकार स्थापित गर्न र मुलुकलाई थप समावेशी बनाउन महत्वपूर्ण सन्देश प्रवाह गर्न सफल भएको बताउनुभयो । “शोषित, पीडित तथा पिछडिएका समुदायको सहयोगमा हाम्रो पार्टी अहिलेसम्म विभिन्न दबाबलाई चिर्न सफल भएको छ । यस महाधिवेशनबाट पार्टीलाई थप सशक्त, जागरुक तथा बलियो बनाएको छ । यहाँहरूको साथले हामी थप सफलता हासिल गर्दै जाने विश्वास जागेको छ”, उहाँको भनाइ थियो ।

जनकपुरमा सम्पन्न एकता महाधिवेशन अत्यन्त सफल भएको उल्लेख गर्दै उहाँले महाधिवेशन असफल बनाउन केही शक्तिले पार्टी फुटाएको तर त्यसबाट केही फरक नपरेको उहाँले जिकीर गर्नुभयो । “यसलाई पार्टी फुट्नुभन्दा पनि केही व्यक्ति चोइटिएर गएको भनेर बुझ्न आवश्यक छ, त्यस्ता व्यक्ति जनताको हितमा कामगर्न नसक्ने र पदको लोभमा जीवन बिताउन बाध्य हुनेछन्”, उहाँको आरोप लगाउनुभयो । अध्यक्ष यादवले महाधिवेशनले दिएको जिम्मेवारीअनुसार चाँडै केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनेसमेत बताउनुभयो ।

पार्टी महाधिवेशनमा मुलुकका विभिन्न भागबाट तथा भारतलगायत विभिन्न मुलुकबाट पर्यवेक्षक तथा पार्टी नेता एवम् प्रतिनिधिसहित तीन हजारभन्दा बढीको सहभागिता रहेको त्यसअवसरमा जानकारी दिइयो । रासस

Facebook Comments