Mon. Dec 23rd, 2024

उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट   

काठमाण्डू,२०८१ जेठ ३२ गते शुक्रबार । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ जन-राजनीतिक परामर्शदात्री सभा (सिपिपिसिसी) को राष्ट्रिय कमिटी उपाध्यक्ष बेटर नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ ।

आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उहाँहरुबीच शिष्टाचार भेट भएको हो । भेटघाटमा शुभकामना आदानप्रदानका साथै नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, उच्च तथा जनस्तरीय भ्रमण, परस्पर सहयोग, व्यापार तथा पर्यटनलगायत विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

हाल कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीसमेत सम्हालिरहनुभएका यादवले बेटर नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमणप्रति खुसी व्यक्त गर्दै नेपाल र चीनबीच सदियौँदेखि रहिआएको सौहार्द्रपूर्ण एवं अति घनिष्ठ सम्बन्ध हालैका वर्षहरुमा बहुआयामिक क्षेत्रमा अझ व्यापक, थप घनिष्ठ र उच्च बनेको बताउनुभयो । “हामी दुई मुलुकले लामो इतिहास बोकेको मित्रवत् सम्बन्ध, सहयोग र सहकार्यलाई ठूलो महत्व दिएका छौँ”, उहाँले भन्नुभयो, “नयाँ उचाइ र आयाममा पुगेको नेपाल-चीन सम्बन्धले दुवै देशका नागरिकहरुको विकास, समृद्धि र दिगो शान्ति प्राप्तिको साझा आकाङ्क्षा पूरा गर्न महत्वपूर्ण आधारशिला प्रदान गरेको छ ।”

दुई देशबीचको उच्चस्तरीय भ्रमणले सम्बन्धलाई थप उचाइमा पुरियाएको तथा सहकार्यका क्षेत्रमा थप विस्तार गर्न मद्दत मिलेको पनि उपराष्ट्रपति यादवको भनाइ थियो । “छिमेकी मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको छ”, उहाँले भन्नुभयो, “चीनले झन्डै सात दशकदेखि नेपालको विकास प्रयासमा  पुरियाउँदै आएको सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।”

उहाँले सन् २०२६ सम्म नेपाल अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको र तीव्र आर्थिक एवं सामाजिक विकाससँगै नेपाली नागरिकको उन्नति र समृद्धिका लागि चीनले स्तरोन्नति हुनुपूर्व र पश्चात् थप सहयोग जारी राख्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको कूल बाह्य व्यापारमध्ये चीनसँगको हिस्सा करिब १४ प्रतिशत रहेको, द्विपक्षीय व्यापारलाई दिगो र व्यापक बनाउन चिनियाँ पक्षबाट नेपाललाई तुलनात्मक लाभका क्षेत्रमा उत्पादकत्व बढाउनका साथै तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरुमा सहयोगका लागि चीन सरकारलाई उहाँले आग्रह गर्नुभयो ।

यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पुरियाउनेमा आफूहरु पूर्ण विश्वस्त रहेको बताउँदै उपराष्ट्रपति यादवले आगामी दिनमा पोखरा र चीनका विभिन्न सहरबीच व्यावसायिक उडान सुरु हुने विश्वास व्यक्त गर्नुभयो ।

चीन सरकारले हालै (१ मे २०२४) देखि लागू हुने गरी चीन भ्रमण गर्ने नेपालीका लागि भिसा शुल्क मिनाहा गरेको र किमान्थाङ्का-चेन्ताङलगायत नाकाको पुनः उद्घाटन हुनाले हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन योगदान गरेको छ उहाँले भन्नुभयो ।

चीनको ३०औँ चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रिय कमिटीका सदस्य तथा १४औँ सिपिपिसिसीका राष्ट्रिय कमिटी उपाध्यक्ष बेटरले चिनियाँ प्रतिनिधिमण्डलका तर्फबाट नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सबल र सुदृढ बनाउने पक्षमा चीन रहेको बताउनुभयो । उहाँले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप दिगो, बलियो र प्रगाढ बनाउनुपर्नेमा जोड दिँदै नेपालको विकासमा चिनियाँ सहयोग निरन्तर जारी रहने बताउनुभएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।रासस

Facebook Comments