कुवेतमा भवनमा भएको आगलागीबाट ३५ भन्दा बढीको मृत्यु
कुवेत सिटी, २०८१ जेठ ३० गते बुधबार । कुवेतमा करिब दुई सय विदेशी कामदार रहेको एक भवनमा बुधबार बिहानै आगलागी हुँदा ३५ जनाभन्दा बढीको मृत्यु भएको छ ।
आगलागीबाट दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कुवेत सिटीको दक्षिणमा रहेको मङ्गफ क्षेत्रमा आगलागी हुँदा ४३ जना घाइते भएका छन् । मङ्गफ आप्रवासी कामदारहरूको बाहुल्य रहेको क्षेत्र हो ।
“दुर्भाग्यवश हामीलाई बिहान ठिक छ बजे मङ्गफ क्षेत्रमा आगो लागेको सूचना प्राप्त भयो”, गृह मन्त्रालयको जनरल डिपार्टमेन्ट अफ क्रिमिनल इभिडेन्सका प्रमुख मेजर जनरल ईद अल-ओवाइहानले भन्नुभयो, “मेरो भवनको पछाडि भएको मृत्यु हुनेहरूको सङ्ख्या ३५ भन्दा बढी छ ।”
कामदारहरूका रोजगारदाताले मन्त्रीलाई दिएको जाननकारीअनुसार घटनास्थलबाट प्राप्त तस्बिरले छ तले उक्त भवनको बाहिरी भागमा कालो लागेको देखिएको छ, भवनमा एक सय ९६ कर्मचारी बस्छन् ।
तेलको धनी मुलुक कुवेतमा ठूलो सङ्ख्यामा विदेशी कामदार छन् । यीमध्ये धेरै दक्षिण तथा दक्षिणपूर्वी एसियाका छन् र धेरैजसो निर्माण वा सेवा उद्योगहरूमा काम गर्छन् ।
जनरल फायर डिपार्टमेन्टको एक स्रोतका अनुसार भुइँ तलामा आगो लागेपछि निस्केको धुवाँले पीडितहरू निस्सासिएका थिए । “फोरेन्सिक टोलीले घटनास्थलमा काम गरिरहेका छन् र अहिलेसम्म तीन शवको सनाखत भएको छ”, ओवाइहानले भन्नुभयो ।
पीडितहरूको राष्ट्रियता घोषणा गरिएको छैन तर एएफपीले सम्पर्क गर्दा भारतीय राजदूतले अस्पतालमा जीवितहरूसँग भेट्न गएको बताउनुभयो ।
भारतका विदेशमन्त्री एस. जयशङ्करले सामाजिक सञ्जाल एक्समा समाचारबाट गहिरो स्तब्ध भएको बताउनुभएको छ । साथै उहाँले दुःखदरूपमा ज्यान गुमाउनेहरूको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
गृहमन्त्री शेख फहद अल-युसेफले घटनास्थलको भ्रमण गर्दै सम्भावित लापरवाहीको जाँचका लागि भवनका मालिकलाई पक्राउ गरिएको बताउनुभयो । उहाँले सुरक्षा नियमहरूको उल्लङ्घन गर्ने कुनै पनि सम्पत्तिलाई तुरुन्त खाली गरिने चेतावनी दिनुभयो ।
“हामी कामदारहरूको भीडभाड र उपेक्षाको समस्यालाई सम्बोधन गर्न काम गर्नेछौँ, आगलागी भएको सम्पत्तिका मालिकलाई कानूनी प्रक्रिया पूरा नभएसम्म हिरासतमा राख्नेछौँ”, उहाँले भन्नुभयो ।
इराक र साउदी अरबको सीमामा रहेको तथा विश्वको करिब सात प्रतिशत तेल भण्डार रहेको कुवेतमा देखिएको यो आगलागी सबैभन्दा भीषण आगलागीमध्ये एक हो ।
आफ्ना पतिले अर्को विवाह गरेको भन्दै बदला लिन सन् २००९ मा एक कुवेती महिलाले विवाह भोजमा पालमा आगजनी गर्दा ५७ जनाको मृत्यु भएको थियो । मानिसहरू भित्र खुशीयाली मनाइरहँदा नुसरा अल-एनेजीले पालमा पेट्रोल फ्याँकेर आगो लगाएकी थिइन् । उक्त अपराधका लागि सन् २०१७ मा उनलाई मृत्युदण्ड दिइएको थियो । उक्त घटनाका पीडितहरूमा धेरै महिला र बालबालिका थिए ।