Sat. Sep 21st, 2024

लेबनानमा अमेरिकी दूतावासबाहिर गोली चलेपछि बन्दुकधारी पक्राउ   

बेरुत, २०८१ जेठ २३ गते बुधबार । बेरुत नजिकै अमेरिकी दूतावासबाहिर बुधबार बिहान गोली चलेको छ । दूतावास बाहिर गोली चल्दा एक सुरक्षा गार्ड घाइते भएका छन् । लेबनानी सेनाले गोली हानेर एक बन्दुकधारीलाई पक्रेको सेना र दूतावासका अधिकारीहरूले बताएका छन् ।

लेबनानमा तनाव जारी रहँदा उक्त आक्रमण भएको छ । हिजबुल्लाह लडाकूहरू र इजराइली सेनाबीच महिनौँको लडाइँले वर्षौंदेखिको राजनीतिक गतिरोध र आर्थिक समस्यापछि हजारौँ नागरिकलाई सीमामा विस्थापित गरेको छ ।

सैनिकहरूले आक्रमणकारीमाथि गोली चलाएको लेनबानी सेनाले बताएको छ । सेनाले उनी सिरियाली नागरिक रहेको मात्र बताएको छ । घाइते बन्दुकधारीलाई अस्पताल लगिएको छ ।

गोली चलाउनुको कुनै उद्देश्य तत्काल थाहा भएको छैन । यद्यपि लेबनानी सञ्चार माध्यमले प्रकाशित गरेको तस्बिरमा रक्ताम्य एक आक्रमणकारीलाई अरबी भाषामा ‘इस्लामिक स्टेट’ शब्द र अङ्ग्रेजीको सुरुको अक्षर ‘आई’ र ‘एस’ लेखेको कालो भेस्टमा देखाइएको छ ।

करिब आधा घन्टा चलेको गोली हानाहानमा एक आक्रमणकारी संलग्न रहेको स्थानीय सञ्चार माध्यमले बताएका छन् । सामाजिक सञ्जालमा आएको अर्को भिडियोमा दूतावासको प्रवेशद्वारमा रहेको पार्किङ स्थलमा एक बन्दुकधारीलाई असल्ट राइफल लिएर गोली चलाएको देखाइएको छ ।

विशाल कूटनीतिक परिसरको प्रवेशद्वार नजिकै भएको आक्रमणपछि आफ्ना सबै कर्मचारी ‘सुरक्षित’ रहेको र लेबनानी सैनिक र दूतावासका सुरक्षाकर्मी तुरुन्त तैनाथ भएको अमेरिकी दूतावासले प्रारम्भिक विज्ञप्तिमा बताएको थियो ।

पछि दूतावासका एक प्रवक्ताले अर्को विज्ञप्तिमा आक्रमणमा दूतावासका एक सुरक्षा गार्ड घाइते भएको बताए । “उनको गोपनीयताको सम्बन्धमा हामी धेरै भन्न सक्तैनौँ तर हामी उनको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछौँ”, प्रवक्ताले भने ।

रक्षामन्त्री र सेना कमान्डरसँगको बैठकपछि अवस्था अहिले स्थिर रहेको र गम्भीर अनुसन्धान भइरहेको जानकारी गराइएको लेबनानी कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लेबनानी सेनाले दूतावास र वरपरका क्षेत्रहरूमा सेना परिचालन गरेको बताएको छ ।

सन् १९८३ मा बेरुतमा अमेरिकी दूतावासमा भएको घातक बम आक्रमणमा ६३ जनाको मृत्यु भएको थियो । अमेरिकी अधिकारीहरूले लेबनानी लडाकू समूह हिजबुल्लाहले आक्रमण गरेको आरोप लगाएका थिए ।

उक्त आक्रमणपछि दूतावासलाई मध्य बेरुतबाट राजधानीको उत्तरमा रहेको औकारको क्रिस्चियन उपनगरमा सारिएको थियो । सन् १९८४ सेप्टेम्बर २० मा नयाँ ठाउँमा अर्को बम आक्रमण भयो । एपी

Facebook Comments