Tue. Jun 25th, 2024

तीन तहका सरकारबाट सहयोग पाउने आशमा दाङको संस्कृत गुरुकुल   

देउखुरी (दाङ), २०८१ जेठ २३ गते बुधबार ।  तल सरयु उत्तरबाहिनी नदी एकनासले बगेको छ । नदी नजिकको ध्यान केन्द्रमा वटुकहरू ध्यान मुद्रामा रहेका छन् । साँझ ६ः००देखि उनीहरू ध्यानमा बसेका हुन् । घोराही उपमहानगरपालिका-७ उत्तरबाहिनी क्षेत्र शुक्रबारमा रहेको माता पवित्रादेवी साङ्गवेद संस्कृत विद्यालय (गुरुकुल)का विद्यार्थीको दैनिकी यस्तै छ । यो नदीको बहाव उत्तरतिर भएकाले यस नदीको नाम उत्तरबाहिनी नामकरण गरिएको छ । जहाँ-जहाँ उत्तरतिर नदी बगेका छन् ती सबै पितृका दिशा भएकाले धार्मिक रूपमा पवित्र मानिन्छन् ।
उपमहानगरपालिकाको वडा नं. ७ उत्तरबाहिनी क्षेत्र शुक्रबारमा रहेको माता पवित्रादेवी साङ्गवेद संस्कृत विद्यालय योगी नरहरिनाथको सक्रियतामा क्षमकान्त धितालको परिवारले २०२२ सालमा २६ बिघा चार कट्ठा एक धुर जग्गा दान दिएर स्थापना गरेको गुरुकुल हो । करिब २३ वर्ष संस्कृत पढाइ भएको उक्त विद्यालयमा २०४५ सालमा बन्द भयो । हाल सोही विद्यालय गुरुकुल बनेको छ । गत वर्षदेखि संस्कृत पढाइ सुरु भएको विद्यालयका प्रबन्धक प्रकाश भट्टराईले बताउनुभयो । गोरक्ष रत्ननाथ पात्रदेव चौघेरामा अध्ययन गरिरहेका विद्यार्थीहरू २०८० साल जेठ २० गते उत्तरबाहिनी क्षेत्र शुक्रबारमा रहेको माता पवित्रादेवी संस्कृत विद्यालय (गुरुकुल)मा स्थानान्तरण भएका छन् ।

घोराही उपमहानगरपालिकाको पहलमा नमूना संस्कृत विद्यालय बनाउने योजनासहित २०८० सालको शैक्षिकसत्रदेखि पुनः सञ्चालनमा आएको गरुकुलका प्रबन्धक भट्टराईले बताउनुभयो । गुरुकुलमा अहिले दाङ, प्युठान, बाँके, बर्दिया र भारतबाट आएकासमेत गरी ३० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको स्वामित्वमा १५ बिघा जमिन छ । यसलाई नमूना संस्कृत विद्यालय (गुरुकुल)का रूपमा विकास गर्ने प्रयास भएको छ ।

यहाँ सातदेखि १७ वर्ष सम्मका वटुक छन् । उनीहरूको दैनिकी बिहान ४ः३० बजेदेखि सुरु हुन्छ । बिहान नुहाइधुवाइसँगै नित्यकर्म गर्छन् । वैदिक फाउण्डेसनको सहयोगमा बिहान ६.३० देखि ८ः४० बजेसम्म रुद्री पढ्छन् । मन्त्रोच्चारणपछि उनीहरू खाना खान्छन् र विद्यालय पोशाक लगाएर पढ्न जान्छन् ।

विद्यालयका अन्य विद्यार्थीले दिवाखाजा खाँदा उनीहरू पनि गुरुकुलमा खाजाका लागि आउँछन् । अन्य विद्यार्थीसँग लेखपढ गरेपछि उनीहरुको खाना, बसाइ हरेक गतिविधि गुरुकुलको नियमानुसार हुने गरेको प्रबन्धक भट्टराईले बताउनुभयो । विद्यालय समयपछि ५ बजेसम्म खेल्छन् । बेलुका ६ बजे खाना खाने घण्टी लाग्छ । खानापछि ध्यान गर्ने र सन्ध्याको तयारी गरी आरती गर्ने र भजनकीर्तनमा रमाउने गर्दछन् । उनीहरू  मादल, हार्मोनियम बजाएर भजन गाउने, नाच्ने र रमाइलो पनि गर्छन् । उनीहरुको दैनिकी एकै किसिमकोे छ । उनीहरू संस्कृत भाषा, व्याकरण, कर्मकाण्ड र वेदसँगै अङ्ग्रेजी, नेपाली र गणित पढ्छन् ।

गुरुकुलमा कक्षा ६ देखि औपचपारिक अध्यापन हुुने भए पनि कक्षा ४ का विद्यार्थीलाई पनि राख्ने गरेको उहाँले बताउनुभयो । कक्षा ६ मा आठ, कक्षा ७ मा १०, कक्षा ८ मा पाँच, कक्षा ९ मा सातजना विद्यार्थी छन् । उहाँका अनुसार गुरुकुललाई विकास गर्दै उत्तर मध्यमासम्म पढाइ हुनेगरी विकास गर्ने उद्देश्य रहेको छ । जिल्लामा गुरुकुल नहुँदा पहिले यो शिक्षा लिनका लागि बालबालिकालाई स्वर्गद्वारी, देवघाटलगायत भारतको हरिद्वार र बनारससम्म जानुपर्ने बाध्यता थियो । गुरुकुल स्थापनासँगै बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

ज्ञान र ध्यान केन्द्र बनाइने    

राष्ट्रियता, मानवता, धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञानविज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले दाङको शुक्रबारको विद्यालयलाई जीवित राख्न खोजिएको प्रबन्धक भट्टराईले बताउनुभयो । धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने सोच भएकाले सहयोगी हातहरूको आवश्यकता रहेको प्रबन्धक भट्टराईले बताउनुभयो ।

दिनप्रतिदिन सहरीकरण बढ्दै गइरहेको छ । मानिस होहल्लाबाट शान्त चाहन्छ, त्यसका लागि आश्रम बनाउन सकेमा पर्यापर्यटकीय क्षेत्रको रूपमा विस्तार गर्न सकिने उहाँले बताउनुभयो । ज्ञान केन्द्र र ध्यान केन्द्र बनाउनका लागि गुरुयोजनाअनुसार काम गर्ने दानदाताको खोजीमा रहेको उहाँले बताउनुभयो । जिल्लाभित्र र बाहिरका भक्तजनले दिवङ्गत आफन्तको नाममा दान गर्ने र तिथिमा वटुकलाई भोजन गराउने गरेका छन् । दाताले गरेको दानबाट बचेको रकमको परिचालन वटुकहरूको खानपानको व्यवस्था हुने गरेको प्रबन्धक भट्टराईले जानकारी दिनुभयो । दिगो व्यवस्थापन नभएका कारण दाताको दानले मात्रै गुरुकुल सञ्चालन गर्न कठिन हुने उहाँ बताउनुहुन्छ । तीनवटै तहका सरकारको सहयोग भएमा गुरुकुल सञ्चालन निर्वाध हुने उहाँको विश्वास छ । रञ्जिता अधिकारी / रासस

Facebook Comments