Sun. Sep 22nd, 2024

इरानका पूर्वराष्ट्रपति अहमदीनेजादद्वारा नयाँ राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता   

तेहरान, २०८१ जेठ २० गते आईतबार । इरानका कट्टरपन्थी पूर्वराष्ट्रपति महमुद अहमदीनेजादले यसै महिना हुने राष्ट्रपतीय निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता गराउनुभएको छ ।

गत मे १९ मा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा आगामी जुन २८ मा मतदान हुँदैछ ।

सन् २००५ देखि २०१३ सम्म इरानी राष्ट्रपतिका रूपमा लगातार दुई कार्यकाल सम्हालेका ६७ वर्षीय अहमदीनेजादले विशेष गरी इरानको आणविक कार्यक्रम र इजरायलको बारेमा उहाँको भड्काउपूर्ण टिप्पणीलाई लिएर पश्चिमा मुलुकहरूसँगको सम्बन्धमा गतिरोध देखिएको थियो ।

राष्ट्रपतिपदका सबै आकाङ्क्षीहरूजस्तै उहाँको उम्मेदवारी पनि सार्वजनिक पदका लागि सबै उम्मेदवारहरूको निगरानी गर्ने १२ जना न्यायविद्हरूको रूढिवादी प्रभुत्व भएको संस्था गार्जियन काउन्सिलको अनुमोदनको पर्खाइमा छ ।

यसअघि सन् २०२१ र २०१७ को चुनावमा राष्ट्रपतिको दौडमा भाग लिनका लागि अहमदीनेजाद अयोग्य घोषित हुनुभएको थियो ।

“राष्ट्रिय क्षमताको अधिकतम उपयोग गरेर देशका सबै समस्या समाधान गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु,” आइतबार गृह मन्त्रालयमा आफ्नो उम्मेदवारी दर्ता पेश गरेपछि उहाँले भन्नुभयो ।

सन् २००५ मा, अहमदीनेजादले इरानको कट्टर शत्रु इजरायललाई ‘मानचित्रबाट सफाया’ गर्न लागेको र प्रलय एक ‘मिथक’ भएको बताएपछि उहाँले विश्वव्यापी बदनामी कमाउनुभएको थियो ।

सन् २००९ मा अहमदीनेजादको विवादास्पद पुनर्निर्वाचनको विरोधमा देशव्यापी विरोध प्रदर्शनहरू भए र राज्यको प्रतिक्रियाले दर्जनौंको मृत्यु भयो र हजारौं गिरफ्तारीहरू भए ।

राष्ट्रपति पदको उम्मेदवारी दर्ताका लागि बिहीबार दर्ता खुला भएको थियो भने सोमबार बन्द हुनेछ ।

संसदका पूर्व सभामुख अली लारिजानी, पूर्व आणविक वार्ताकार सइद जलीलीलगायत अन्य प्रमुख व्यक्तित्वले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

गार्जियन काउन्सिलले आफ्नो परीक्षण प्रक्रिया पूरा गरेपछि जुन ११ मा उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्नेछ । एएफपी

Facebook Comments