Thu. Dec 26th, 2024

सङ्खुवासभामा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने   

किमाथाङ्का (सङ्खुवासभा),२०८१ जेठ १८ गते शुक्रबार । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ प्रदेशस्तरीय खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो । जिल्ला ब्याडमिन्टन सङ्घले आज खाँदबारीमा पत्रकार सम्मेलन गरी प्रदेशस्तरीय पुरुष डबल र भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने जानकारी दिएको हो ।

प्रतियोगिता यही असार ६ देखि ८ गतेसम्म हुने जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने पुरुष डबलतर्फ रु ६०/६० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३५/३५ हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेलाई रु १०/१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तैगरी, भेट्रान्सतर्फ रु ५०/५० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३०/३० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेलाई रु सात हजार पाँच सय, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

ब्याडमिन्टन प्रतियोगिता खाँदबारी-१ घिमिरे गाउँस्थित सोमनाथ घिमिरे मेमोरियल इन्डो स्टेडियममा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कोशी प्रदेश, भारत र विभिन्न प्रदेशका टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा करिब रु १० लाख खर्च हुने अनुमान गरिएको छ । रासस

Facebook Comments