Mon. Dec 23rd, 2024

विरामीका आफन्तले भने, भाग्यले यस्ताे सरकार र चिकित्सक पायाैं

विराटनगर, २०७७ बैशाक २६ गते शुक्रबार

आफन्तले कोरोना संक्रमण परास्त गरेको खबर सुनेपछि कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा आएका छिरछिमेक र घरपरिवारका सदस्यले शुक्रबार आफ्नो खुशी थेग्न सकेनन् ।

उदयपुर त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा रहेकै बखत कोरोना संक्रमित हुनु भएका विराटनगर-१७ का ७२ वर्षीय आइनो मियाँ र ६० वर्षीय इजरायल मियाँसहित ८ जना डिस्चार्ज हुनु भएपछि आफन्त र छरछिमेकमा खुशी छाएको हो । त्यस अगाडि गत बुधबार समेत ६ जनालाई कोरोना भाईरस मुक्त बनाएर अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

घरका सदस्य र पाहुनाको डिस्चार्ज हुनु पूर्व अस्पताल परिसरमा ‘शुक्रिया सरकार, शुक्रिया मन्त्री र शुक्रिया चिकित्सक तथा स्वास्थ्यकर्मी’ लेखेका प्लेकार्ड बोकेर आफन्तले उत्साह मात्रै प्रकट गरेनन् उपचारमा संलग्नहरुप्र्रति हौसला पनि बढाए । उचित समयमा प्रदेश सरकारले गरेको निर्णयबाट अस्पताल सञ्चालनमा आएकोप्रति स्वाबासी समेत दिन भ्याए ।

आफन्तसँगै इस्लाम धर्मालम्बीहरुको तबलिकी जमात समुहका १६ जनामा कोरोना संक्रमण देखिएको थियो । यीमध्ये १२ जना भारतीय नागरिक वा पाहुना थिए । नेपालका आएका बखत पाहुना समेत संक्रमित हुनुले धेरैलाई चिन्ता बढाएको थियो । विराटनगरका मुस्लिम अगुवा युवा चाँद इराकीले भन्नुभयो-संसारमै यस्तो अपूर्व सहयोग सायद कहिं हुन्न थियो, भाग्यले सरकार र चिकित्सक पायौं ।

उहाँले रमजान महिनामा तबलिकी जमातमा रहेकाहरुका लागि रोजा (ब्रत) बस्ने वातावरणदेखि नमाज पढ्ने अवसर समेत दिलाउँदै चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचार गर्नु उदाहरणीय भएको बताउनुभयो । कुनैपनि शब्दले प्रदेश सरकारको वर्णन गर्न सक्ने अवस्था छैन, इराकीले भन्नुभयो-सहि समयमा अस्पताल बनाउनु, उचित उपचार गर्नु र सम्मानपूर्वक विदाई गर्नेहरु हाम्रा आदरणीय हुनुहुन्छ ।
गत बैशाख ४ गतेसम्म प्रदेश भित्र एकजना पनि नागरिक कोरोना संक्रमण देखिएको थिएन । प्रदेश सरकार संक्रमित छैनन् भनेर ढुक्कले नबस्दा विराटनगरको कोशी अस्पताल अन्तर्गत कोभिड-१९ उपचार केन्द्र निर्माण गरेर सञ्चालनमा ल्याईसकेको थियो । त्यहि अस्पतालले बैशाख ५ गतेपछि ३१ संक्रमितको भार थेग्दै १४ जनाको उपचारमा सफल भईसकेको छ । बाँकी रहेका १७ जनाको समेत अवस्था सामान्य उन्मुख रहेका कारण यहि हप्तामा खुशीका खबरहरु सुन्न पाउने अपेक्षा चिकित्सकहरुले राख्दै आएका छन् ।

हामीलाई प्रदेश सरकारले भर दिएकैले हौसला प्राप्त ग¥यौं, कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राले भन्नुहुन्छ-त्यहि हौसलाको परिणाम हामीले दिईरहेका छौं । अस्पताल मात्रै नभई अस्पताल व्यवस्थापनका लागि चार घेराको संयन्त्र सामाजिक विकास मन्त्रालयले निर्माण गरेको छ । संक्रमितको उचित स्वास्थ्य सुरक्षाका लागि सचिव रबिलाल पन्थथ संयोजकत्वमा अस्पताल सञ्चालन निर्देशन समिति गठन गरिएको छ । यो समितिका मातहतमा अस्पताल प्राविधिक समिति मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्रा र अस्पताल व्यवस्थापन समिति जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतको संयोजकत्वमा रहेको छ ।

त्यस बाहेक प्राविधिक समिति मातहत वरिष्ठ फिजिसियन डा.दिपक सिग्देलको संयोजकत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन समिति र फिजिसियन डा.डेनप्रदास आचार्यको संयोजकत्वमा संक्रमित उपचार समिति रहेको छ । अस्पताल व्यवस्थापन समितिले उपचारमा संलग्न चिकित्सकको दैनिक व्यवस्थापन र विरामीको व्यवस्थापनको काम गर्दै आएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले अब संक्रमितको उपचारका लागि कुनै समस्या नभएकोले ‘थ्रि टी’ विधी सुरुवात गरिने बताउनुभयो । ‘ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट’ विधी कार्यन्वयन गरेर नागरिकमा कोरोना विरुद्धको उपचार प्रणाली अगाडी सारिएको मन्त्री घिमिरेले बताउनुभयो । त्यसका लागि मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताको नेतृत्वमा ट्रेसिङ्ग, प्रादेशिक प्रयोगशाखाका प्रमुख डा.जयबेन्द्र यादवको संयोजकत्वमा टेस्टिङ र कोशी अस्पताल मेसु संगिता मिश्राको संयोजकत्वमा ट्रिटमेन्ट टोली परिचालन गरिने भएको हो ।

हौसलासहित २५ स्वास्थ्यकर्मीलाई घर पठाइयो
कोभिड-१९ उपचार केन्द्रमा गत वैशाख ५ गतेदेखि संक्रमितको उपचारमा खटिनु भएका २५ जना स्वास्थ्यकर्मीको टोलीलाई शुक्रबार नै घर पठाइएको छ ।

प्रदेश सरकारले विराष्टनगरको इष्टर्न स्टार होटेलको क्वारेन्टाईनमा राखेका स्वास्थ्यकर्मीलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले बधाई तथा शुभकामना सम्मानका बिदाई गर्नु भएको हो । बिदाई कार्यक्रममा मन्त्रालयका सचिव रविलाल पन्थ, कोशी अस्पतालक मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्रालेसमेत स्वास्थ्यकर्मीको साहसको प्रशंसा गर्नु भएको थियो । त्यस क्रममा मन्त्री घिमिरेले प्रदेश १ सरकारले कोरोना उपचारका लागि गरेको कामको संघीय सरकार र अन्य प्रदेश सरकारहरुले चासोका साथ लिएकोे बताउँदै कुनैपनि समस्या हुन नदिने प्रयास गरिने बताउनुभयो । आवश्यकता परेको खण्डमा पुनः सेवा दिन चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गर्दै मन्त्री घिमिरेले अहिलेसम्म पुर्याएको योगदानको उच्च मुल्यांकन हुने बताउनुभयो । पहिलो चरणमा डा. डेनप्रसाद आचार्यको नेतृत्वमा २५ जनाको टिम रहेको थियो ।

७ दिन अस्पतालमा बसेको टिम १४ दिन क्वारेन्टाईनमा बसेपछि शुक्रबार घर पठाइएको हो । डिस्चार्ज हुनुअघि स्वास्थ्यकर्मीमा गरिएको पीसीआर परीक्षणमा सैको रिपोर्ट नेगेटिभ आएको थियो । गोरखापत्र अनलाईनबाट

Facebook Comments