Sat. Apr 20th, 2024

भारतमा मालबाहक रेलले किचेर १६ जनाको मृत्यु

- कोरोनाले लकडाउन, लकडाउनले ज्यान लियो

काठमाडौं, २०७७ बैशाक २६ गते शुक्रबार

भारतको महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदूरहरुको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सवारी साधनको अभावमा हिँडेरै आआफ्ना घरतर्फ गइरहेका प्रवासी मजदूरको एक समूहलाई मालबाहक रेलले जालना र औरंगाबादबीच बिहान ६:३० बजे किचेको थियो । उक्त दुर्घटनामा अन्य केही मजदूर पनि घाइते भएका छन् ।

घाइतेहरुलाई औरंगाबादस्थित स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनालगत्तै प्रहरी र उद्धारकर्मी घटनास्थल पुगेका थिए । भारतीय रेलवेले मजदूरहरु रेलमार्गमा आराम गरिरहेको समयमा दुर्घटना भएको जनाएको छ ।

भारतीय रेलमन्त्री पियुष गोयलले उक्त घटनाको जाँचको आदेश दिएका छन् । संचार माध्यमहरुका अनुसार यी सबै मजदूर मध्यप्रदेशका थिए । प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतक मजदूरका प्रत्येक परिवारलाई पाँच लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालगत्तै ट्वीट गरी महाराष्ट्रको औरंगाबादमा भएको घटना अत्यन्त दुःखद भएको र आफू घटनाबाट मर्माहत भएको जनाउँदै आफूले रेलमन्त्रीलाई उक्त घटनाबाट पीडितलाई जतिसक्दो चाँडो सहयोग गर्न निर्देश दिएको बताएका छन् ।

भारतमा देशव्यापी लकडाउन घोषणा गरेपछि मुम्बई, नयाँ दिल्ली समेतका ठूला शहरबाट लाखौं मजदूर पैदलै हिँडेर आआफ्ना घर फर्किरहेका छन् । पछिल्लो पटक भारतमा भएको यो दुर्घटना लकडाउनको अवधिको सबैभन्दा भयानक हो । नागरिक न्यूज अनलाईनबाट

Facebook Comments