Thu. Jan 9th, 2025

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ जना घाइते   

चितवन,२०८१ जेठ १४ गते सोमबार ।  चितवनको नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार गए राति साढे १२ बजे काठमाण्डूबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाण्डूबाट महोत्तरीतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाण्डूतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका थिए । दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन ।

दुर्घटनापश्चात् राति सडक अवरुद्ध भएको थियो । आज बिहानदेखि सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिनुभयो । घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा तथा चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । रासस

Facebook Comments