Mon. Sep 23rd, 2024

अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवबीच भेटवार्ता   

काठमाण्डू,२०८१ जेठ ११ गते शुक्रबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका एम्नेस्टी इन्टरनेसनलका महासचिव डा. अग्नेज कल्लामार्डले भेटवार्ता गर्नुभएको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज भएको भेटमा मानवअधिकार, सङ्क्रमणकालीन न्याय र प्रेस स्वतन्त्रतालगायत विषयमा छलफल भएको पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार अध्यक्ष ओलीले नेपालमा राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि मानवअधिकार र सुशासनको सुनिश्चित गरिएको बताउनुभएको थियो । साथै उहाँले सङ्क्रमणकालीन न्यायको विषय टुङ्गो लगाउँदा पीडितले न्याय पाउने कुरा, अन्तर्राष्ट्रिय मान्यता र अदालतको आदेशलाई ध्यान दिनुपर्नेे र गम्भीर अपराधका घटनालाई माफी दिन नसकिने पार्टीको धारणा रहेकाबारे समेत स्पष्ट पार्नुभएको कार्यालय सचिव डा अधिकारीले जानकारी दिनुभयो ।

भेटमा महासचिव डा कल्लामार्डले नेपालमा सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउने विषय, प्रेस स्वतन्त्रता र सामाजिक तथा लैङ्गिक विभेद्जस्ता विषयमा जिज्ञासा राख्नुभएको थियो । रासस

Facebook Comments