Mon. Jun 17th, 2024

मस्कोनजिकै आप्रवासी छात्रावासमा आगलागी हुँदा आठ जनाको मृत्यु   

  मस्को, २०८१ जेठ १० गते बिहीबार । मस्को नजिकैको एक गाउँमा बिहीबार आप्रवासीहरू बस्ने एक अवैध छात्रावासमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अभियोजकहरूका अनुसार रुसी राजधानीको उत्तरपश्चिममा रहेको इस्ट्रिन्स्की जिल्लामा दुई तले आवासीय भवनमा बिहान करिब चार बजे आगो लागेको थियो । गाउँको छेउमा रहेको उक्त भवनबाट दुई जनाको उद्धार गरिएको तर आठ जनाको शव फेला परेको उद्धारकर्मीहरूले बताएका छन् ।

“अनुसन्धानकर्मीहरूका अनुसार एक २३ वर्षीय व्यक्तिले उक्त घर भाडामा लिएका थिए, घरलाई पछि रुसमा दर्ता नगरिएका विदेशी नागरिकहरूलाई भाडामा दिइएको थियो”, अभियोजकहरूले भनेका छन् ।

अग्निनियन्त्रकहरूले भित्ताका केही भाग भत्किएको उक्त भवनमा धुवाँ उडिरहेको भग्नावशेषलाई अवलोकन गरिरहेको भिडियोमा देखाइएको छ । अभियोजकहरूले आगलागीको सम्भावित कारणमा ग्यासलाई अस्वीकार गरेका छन् ।

अवैध आप्रवासनलाई रोक्ने आधिकारिक प्रयासहरूका बाबजुद कानूनी हैसियतबिना हजारौँ विदेशी रुसमा बस्ने गरेको विश्वास गरिन्छ । एएफपी

Facebook Comments