Tue. Sep 17th, 2024

सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुन्छः नगर प्रमुख कोइराला   

विराटनगर, २०८१ जेठ ७ गते सोमबार । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नियम विपरीत सञ्चालित सहकारीमाथि कारबाही हुने बताउनुभएको छ । महानगरले आयोजना गरेको पाँचदिने सहकारी लेखा तथा पल्र्स तालिमको आज भएको समापन कार्यक्रममा उहाँले जनताले गाँस काटेर जम्मा गरेको पैसा हिनामिना गर्नेविरुद्ध कडा कारबाही गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले नगर क्षेत्रमा सञ्चालित प्रत्येक सहकारीको गतिविधि र क्रियाकलापलाई महानगरले सूक्ष्मरुपमा अध्ययन गरिरहेको समेत बताउनुभयो । “महानगरको क्षेत्राधिकारमा रहेका सहकारी संस्थाले बदमासी गरे निर्ममतापूर्वक कारबाही गर्छौं”, प्रमुख कोइरालाले भन्नुभयो ।

तालिममा ह्रास कट्टी, जोखिम ऋण व्यवस्थापन, तिर्नुपर्ने रकम, ब्याज मुल्तबी, अन्तिम मालशेष, पाउनुपर्ने रकम, कारोबारको सम्पुष्टि र तयारी विधि, मुख्य खाता, सहायक खाता र प्रयोजनगत लगतहरू, अन्तिम खाता, पर्ल्सको उपयोग, पर्ल्सको परिचय, पर्ल्सको महत्व, वित्तीय सहकारीमा यसको उपयोगितालगायतका विषयमा प्रशिक्षण दिइएको सहकारी शाखाकी प्रमुख सुशीला अधिकारीले जानकारी दिनुभयो ।

तालिममा सहकारीविज्ञ रामचन्द्र गौतम र लक्ष्मी सापकोटाले सहजीकरण गर्नुभएको थियो भने ३५ जना लेखा कर्मचारीको सहभागिता थियो । विराटनगर महानगरको क्षेत्राधिकारभित्र एक सय ७३ वटा सहकारी सञ्चालनमा छन् । रासस

Facebook Comments