Mon. Dec 23rd, 2024

पर्यटकीय क्षेत्र रिठेडाँडामा थपिँदै पर्यटन पूर्वाधार   

ढोरपाटन (बागलुङ), २०८१ जेठ ५ गते शनिबार । बागलुङको जैमिनी नगरपालिका-५ बिनामारेस्थित पर्यटकीय क्षेत्र रिठेडाँडामा पर्यटन पूर्वाधार निर्माण भइरहेका छन् । अनकन्टार भिरको शिरमा रहेको रिठेडाँडामा नगरपालिका र गण्डकी प्रदेश सरकारले वि.सं. २०७४ देखि पूर्वाधार निर्माण गर्दै आएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न पर्यटन पूर्वाधार निर्माण गरिरहेको जैमिनी नगरपालिका-५ का अध्यक्ष ठगबहादुर थापाले बताउनुभयो ।

अग्लो डाँडाको शिरमा समथर भूभाग छ । यहाँ आन्तरिक पर्यटक घुम्न आउने हुँदा यसलाई उत्कृष्ट गन्तव्य बनाउन संरचना थप्दै गएको उहाँको भनाइ छ । हालसम्म रु ४५ लाख बढी लगानी गरिसकेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

रिठेडाँडामा शौचालय, खानेपानी, चौतारा, मन्दिर घेराबारलगायतका संरचना बनिसकेका छन् । यहाँ आउने पर्यटकलाई समथर मैदानको बीचमा रहेको पोखरी र चिसो बतास चल्ने रिठेडाँडादेखि देखिने दृश्यले लोभ्याउने गरेको छ । गर्मी याममा शीतल खोज्दै पर्यटक आउने गर्छन् । नगरपालिकाले आगन्तुकका लागि रुखमुनि बसेर शीतल ताप्न चौतारी बनाइदिएको छ । पछिल्लो समय पर्यटक बढ्दै गएपछि घाम पानी छेक्न विश्रामस्थल बनाइएको छ ।

“रिठेडाँडा जैमिनीको मात्रै नभई सिङ्गो बागलुङको पर्यटकीय क्षेत्र हो, यो ठाउँ वर्षौंदेखि ओझेलमा परेको थियो, नगरपालिका स्थापना भएपछि हामीले यहाँ लगानी गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “यस वर्ष पनि प्रदेश र नगरपालिकाको रु १० लाख बजेटले सार्वजनिक शौचालय र खानेपानी व्यवस्थापनको काम हुँदैछ, पहिलेको तुलनामा अहिले निकै परिवर्तन भएको छ, पर्यटकले पनि रुचाउँदै गएका छन् ।”

यहाँ पर्यटन पूर्वाधार निर्माणसँगै प्रचारप्रसार हुन थालेपछि पर्यटक बढेको जैमिनी नगरपालिका-५ का स्थानीय हर्कबहादुर थापामगरले जानकारी दिनुभयो । पहिले गाउँलेले गाईभैँसी चरन क्षेत्रका रुपमा प्रयोग गर्ने रिठेडाँडा अहिले पर्यटक रमाउने स्थलकारुपमा विकास भएको उहाँको भनाइ छ । अझ सबैभन्दा बढी त माघ, फागुनको समयमा आन्तरिक पर्यटक आउने गर्छन् । चाडपर्वमा आन्तरिक पर्यटकको भीड लाग्ने गर्छ ।

रिठेडाँडादेखि बागलुङको विभिन्न स्थानसहित पर्वत, स्याङ्जा र उच्च पहाड नजिकबाट अवलोकन गर्न सकिन्छ । ग्रामीण जनजीवन बुझ्न र अर्गानिक खानाका स्वाद लिन पर्यटक रिठेडाँडा आउने गर्छन् । रासस

Facebook Comments