Sun. Apr 13th, 2025 09:58:32

अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन भोलिदेखि

भिओके समाचार/काठमाण्डू, २०८१ जेठ ३ गते बिहीबार । १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन भोलिदेखि काठमाडौंमा हुने भएको छ । आज नेपाल बार एशोसिएशनले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सो सम्मेलन भोलि जेठ ४ गतेदेखि ६ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा सञ्चालन हुने बताउनु भयो ।

सम्मेलनमा तय गरिएका विविध विषयहरुमा कानून व्यवसायीहरुले कार्यपत्र प्रस्तुत गरी सो उपर छलफल हुुने र कानूनको अध्ययन तथा अनुसन्धानमा स्थापित निकायहरुको तर्फबाट समेत सम्मेलनमा कार्यपत्र प्रस्तुत हुने जानकारी दिनुभयो । उहाँले न्यायलयमा व्याप्त विकृति, विसंगति र भ्रष्टाचारको अन्त्यका लागि कार्की प्रतिवेदनको कार्यान्वयन गर्दै न्यायिक सुशासन र नागरिकको न्यायिक अधिकार सुनिश्चित गर्न आवश्यक रहेको पनि बताउनु भयो ।

२०८० मंसिर २४ र २५ गते चितवनमा सम्पन्न नेपाल बार एशोसिएशनको केन्द्रिय कार्यकारिणी परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीशहरुको पदावधिको सम्बन्धमा एक अध्ययन समिति गठन गरी सो सम्बन्धी निर्णय लिन सम्मेलनमा प्रस्ताव पेश गर्नेसमेत अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । न्याय प्रशासनलाई आधुनिकीकरण, विकसित, स्वच्छ, निष्पक्ष तथा न्याय उन्मुख बनाउन समेत सम्मेलन कोशेढुंगा सावित हुने घिमिरेको भनाई छ ।

अध्यक्ष घिमिरेले ‘सक्षम कानून व्यवसायी, मर्यादित बारः न्यायपालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढिकरणको आधार’ भन्ने नाराका साथ सम्मेलन आयोजना हुने पनि बताउनु भयो ।

Facebook Comments