Mon. Dec 23rd, 2024

रुसी राष्ट्रपति पुटिन चीन भ्रमणमा (भिडियो सहित)

पैचिङ, चीन, २०८१ जेठ ३ गते बिहीबार । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने राजकीय भ्रमणका लागि चीनको राजधानी पैचिङ पुग्नुभएको छ । चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा आज बिहान पैचिङ पुग्नु भएका राष्ट्रपति पुटिन मस्को र पैचिङबीचको सम्बन्ध प्रगाढ बनाउन सो भ्रमणमा रहनु भएको चाईना मिडिया ग्रुपले जनाएको छ ।

राष्ट्रपतिको रूपमा नयाँ कार्यकाल प्रारम्भ गरेपछि पुटिनको यो पहिलो प्रतीकात्मक विदेश भ्रमण हो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको उत्तर–पूर्वी खर्सिभ क्षेत्रमा रुसको आक्रमणका विरुद्ध सेनाले प्रतिरक्षा गरिरहेको बेला आगामी सबै अन्तर्राष्ट्रिय भ्रमणहरू रोक्ने घोषणाको केही घण्टापछि रुसी राष्ट्रपति पुटिन चीन पुग्नु भएको हो ।

सीएनएनका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति पुटिनको बैठकमा रुस-युक्रेन द्वन्द्व, गाजा युद्धको छलफलसँगै दुई देशबीचको व्यापार, सुरक्षा र ऊर्जा सम्बन्ध विस्तार गर्ने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ ।

भ्रमण अगावै राष्ट्रपति पुटिनले चिनियाँ समाचार संस्था सिन्ह्वासँगको अन्तर्वार्तामा दुई देशबीचको रणनीतिक साझेदारीको प्रशंसा गर्नुभएको थियो । उहाँले दुई देशबीच विदेश नीति समन्वयलाई सुदृढ पार्ने, उद्योग र उच्च प्रविधि, बाह्य अन्तरिक्ष र आणविक ऊर्जा, कृत्रिम बुद्धिमता, नवीकरणीय ऊर्जा र अन्य क्षेत्रको प्रयोगको सहकार्यलाई मजबुद बनाउने लक्ष्य राखेको बताउनुभयो ।

राष्ट्रपति पुटिनले चीनको युक्रेन सङ्कट समाधान गर्ने दृष्टिकोणको पनि प्रशंसा गर्नुभएको थियो । दुवै नेताले रुस–युक्रेन द्वन्द्व सुरु भएदेखि नै आफ्नो देशको कूटनीतिक, व्यापार र सुरक्षा सम्बन्धलाई बलियो बनाउने पहल जारी राखेका छन् । भेटमा दुवै नेताले द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको रुसी क्रेमलिनले जनाएको छ । चिनियाँ समाचार एजेन्सीले वर्णन गरेअनुसार चीन र रुसले कूटनीतिक सम्बन्धको ७५ वर्ष मनाउँदैछन् ।

पैचिङमा राष्ट्रपति सीसँगको भेटबाहेक पुटिनले रुसको सुदूर पूर्वको सिमानामा रहेको चीनको उत्तर-पूर्वी हेइलोंगचियाङ प्रान्तको राजधानी हार्पिनको पनि भ्रमण गर्ने योजना रहेको छ ।

Facebook Comments