Mon. Dec 23rd, 2024

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुरियाउनुपर्छ : अध्यक्ष ओली   

काठमाण्डू,२०८१ जेठ ३ गते बिहीबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुरियाउनुपर्नेमा जोड दिनुभएको छ ।

मदन-आश्रितको ३१औँ स्मृति दिवसमा सो पार्टीद्वारा आज मदननगर, बल्खुमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले सबै खालका आक्रमणलाई पराजित गर्दै एमाले अपराजेय शक्तिका रूपमा स्थापित हुँदै आएको बताउनुभयो ।

आफूहरूले अगाडि बढाएको आन्दोलनलाई जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)ले निर्देशित गरिरहेको र आन्दोलनले सफलता प्राप्त गरिरहेको बताउँदै अध्यक्ष ओलीले अब २०८४ मा हुने निर्वाचनबाट नेपालको राजनीतिले नयाँ मोड लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “त्यो मोड प्रतिगामी होइन, अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुरियाउने हुनुपर्छ, जसबाट राष्ट्रिय हित सम्बद्र्धन, सुशासन र तीव्र विकास अगाडि बढाउन सकियोस् । समाज कल्याण, मानवतावाद र लोककल्याणकारी राज्यको अवधारणा कार्यान्वयन गर्नाका साथै गरिबी अन्त्य गर्न सकियोस् ।’’

सामाजिक न्याय र समानतासहितको मानव समृद्धिका लागि समाजवाद दिवङ्गत नेताहरूको गन्तव्य रहेको स्पष्ट गर्दै अध्यक्ष ओलीले आगामी २०८४ को निर्वाचनमा सफलता प्राप्त गरी त्यस दिशामा अगाडि बढ्न सकिए मदन-आश्रितका सपना थप पूरा हुने आशा व्यक्त गर्नुभयो ।

आफूलाई कम्युनिष्ट नेता भन्नेहरू नै आन्दोलनलाई सिध्याउन लागि परेका र राष्ट्रिय शक्तिको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन पछिलागेकाले विगत स्मरण गर्दै अध्यक्ष ओलीले उनीहरूको पत्याउनै नसकिने खालको गतिविधि गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “हाम्राविरुद्ध एकपछि अर्काे पासो थापियो । ती सबै पराजित गरियो । अब दिगो र सुदृढ विजयको दिशामा अगाडि बढ्नुपरेको छ ।’’

देशमा प्रतिगमन हुँदा वा नाकाबन्दीको अप्ठ्यारो परिस्थितिमा पनि आफूहरुले घुँडा नटेकेको स्मरण गर्दै उहाँले आफू प्रधानमन्त्री रहेको समयमा भएको नाकाबन्दीविरुद्धको लडाईंमा जनताको साथ र सहयोग पाएको भन्दै सम्मान प्रकट गर्नुभयो ।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरु र आश्रितकी धर्मपत्नी माया ज्ञवालीको उपस्थिति थियो । रासस

Facebook Comments