Tue. Dec 24th, 2024

रुसका राष्ट्रपति पुटिनले चीनको भ्रमण गर्नुहुने

भिओके समाचार/काठमाण्डू, २०८१ जेठ २ गते बुधबार । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भोलिदेखि चीनको राजकीय भ्रमण गर्नुहुने भएको  छ ।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङको निमन्त्रणामा राष्ट्रपति भ्लादिमिर पुटिनले भोलि मे १६ देखि १७ सम्म चीनको राजकीय भ्रमण गर्नुहुने चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनले जानकारी दिनुभएको छ ।

हिजो चीनको राजधानी पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता वाङ वेनपिनले रुसी राष्ट्रपति पुटिनको चीन भ्रमणबारे जानकारी दिनुभएको हो ।  पुटिनले राष्ट्रपतिको रूपमा नयाँ कार्यकाल सुरु गर्नुभएपछि पहिलो राजकीय भ्रमणको रुपमा चीनलाई रोज्नु भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनका अनुसार भ्रमणका क्रममा राष्ट्राध्यक्ष सी र राष्ट्रपति पुटिनले चीन र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वार्षिकोत्सवका अवसरमा द्विपक्षीय सम्बन्ध, विभिन्न क्षेत्रमा सहयोग र पारस्परिक हितका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा विचार आदानप्रदान कार्यक्रम रहेको छ ।

प्रवक्ता वाङ वेनपिन

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले युरोपका विभिन्न मुलुकहरुको भ्रमण सम्पन्न गरे लगत्तै रुसका राष्ट्रपतिले चीन भ्रमण गर्नुलाई महत्वका साथ हेरिएको छ । रुस र युक्रेनबीच झण्डै तीन वर्षदेखि चलिरहेको भिषण युद्ध, हमास र इजरायलबीचको डरलाग्दो द्न्दकाबीच विश्वकै सर्वशक्तिमान देश रुसका राष्ट्रपति पुटिनले विश्वको उदाउँदो आर्थिक शक्ति चीनका प्रभावशाली नेतासँग गर्न लाग्नुभएको भेटले नयाँ आशाको सञ्चार हुने विज्ञहरुको ठम्याई छ ।

चीन, पाकिस्तान, उत्तरकोरिया, इरान लगायतका देशहरुसँग घनिष्ट सम्बन्ध रहेको रुसले युुक्रेनसँगको युद्धपछि पश्चिमी शक्तिहरुबाट व्यहोर्नुपरेका समस्याको न्यूनिकरणमा चीन भ्रमणले महत्वपूर्ण अर्थ राख्ने विश्लेषकहरु बताउँछन् ।

Facebook Comments