Mon. Dec 23rd, 2024

चतराधाम पूर्णमहाकुम्भ मेला अवधिमा ३६ जनाको उद्धार, तीन हजारको उपचार

धरान (सुनसरी), २०८१ वैशाख ३१ गते सोमबार । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतराधाममा गत चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म सञ्चालन भएको पूर्णमहाकुम्भ मेलामा सशस्त्र प्रहरीले ३६ जनाको उद्धारका साथै तीन हजारको स्वास्थ्य उपचार गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीको विपद् व्यवस्थापन टिमद्वारा मेला अवधिभर ३६ जनाको उद्धार र स्वास्थ्य शिविरबाट तीन हजार एक सय अठारजना दर्शनार्थीलाई स्वास्थ्य सेवा प्रदान गरिएको हो ।

सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा राखिएको मोटरबोटसहितको विपद् उद्धार टोलीले स्नान गर्दा खोलाले बगाएर लगेका, खोलामा बेहोस् भएका गरी ३६ जनाको उद्धार गरिएको मुख्यालयका नायब महानिरीक्षक अञ्जनीकुमार पोख्ररेलले जानकारी दिनुभयो । मेलालाई व्यवस्थित र सुरक्षित बनाउन तीन सयजना सुरक्षाकर्मी खटाइएको र प्रहरी नायव उपरिक्षकको कमाण्डमा मेलाको अवधिभर स्नानस्थल तथा कार्यक्रमस्थलमा फौज परिचालन गरिएको उहाँको भनाइ छ । रासस

Facebook Comments