Mon. Dec 23rd, 2024

चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान   

धरान, २०८१ वैशाख २६ गते बुधबार । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्रवर्षे पिण्डेश्वर पूर्णमहाकुम्भ मेलामा आज अन्तिम शाही स्नान गरिँदैछ । आज मातातीर्थ औँंसी अर्थात आमाको मुख हेर्ने दिन परेकाले बिहानै दर्शनार्थीको भीडभाड बढेको पूर्णमहाकुम्भ मेला समितिका सचिव चन्द्र मगरले जानकारी दिनुभयो ।

चतराधाममा शाही स्नान गर्न बिहान ६ बजे जगत्गुरु महाराजको साथमा न्यायधीश तिलकराज रेग्मी, प्रधानमन्त्री कार्यलयका सचिव अर्जुन पाख्रेल, बालसन्त मोहनशरण देवाचार्य, भारतका जगतगुरुसहित हजारौँको सङ्ख्यामा सर्वसाधारण र धर्मगुरुले बाजागाजा, झाँकीसहित बराह क्षेत्रधाममा पुगेर साधुसन्तले शाही स्नानपवित्र तीर्थ बराह क्षेत्रस्थित सप्तकोशी नदीमा सन्त, महन्त र महामण्डलेश्वरले शाही स्नान गर्नुभएको छ ।

आज अन्तिम शाही स्नानमा धर्माचार्य, सन्तमहन्त, पीठाधीश, मठाधीश, भक्तजनलगायत स्थानीयवासीले पवित्र तीर्थ बराह क्षेत्रस्थित सप्तकोशी नदीमा सन्त, महन्त र महामण्डलेश्वरले शाही स्नान गर्नुभएको हो । पूर्णमहाकुम्भ मेलामा जम्मा चारवटा शाहीस्नान राखिएको थियो, त्यसमध्ये आजको शाहीस्नान अन्तिमभएकाले स्नान गर्नका लागि नेपालका विभिन्न स्थान र भारतलगायत देशबाट अघिल्लै दिन ठूलो सङ्ख्यामा मानिस कुम्भनगरी चतराधाममा आइपुग्नुभएको समितिका सचिव मगरले जानकारी दिनुभयो ।

२८ गतेसम्म लाग्ने महाकुम्भ मेलामा चारदिन कुम्भस्नानका लागि विशेषदिन राखिएको थियो । धर्मशास्त्रअनुसार सन्त, महन्तले गर्ने स्नानलाई शाहीस्नान भनिन्छ । विशेषगरी स्नानलाई महत्वपूर्ण मानि बराह क्षेत्रमै सबैभन्दा बढी स्नान गर्ने प्रचलन छ ।
त्यहाँ खाली खुट्टा हिँडेर जानेआउने गरिन्छ । शुभमुर्हूतमा शाहीस्नान गरेमा अमरताको बरदानप्राप्त गर्ने धार्मिक विश्वास छ । कुम्भमा नुहाए अक्षयप्राप्ति हुने धार्मिक मान्यता रहेकाले मानिस देश विदेशबाट कुम्भस्नान गर्न चतराधाम आउने गरेको कुम्भ आयोजक समितिले जनाएको छ ।

प्राचीन हरिद्वारका नामले समेत चिनिने चतराधाममा वि.सं. २०५९ सालेखि कुम्भको आयोजना हुँदैआएको छ । यहाँ प्रत्येक छ वर्षमा अर्धकुम्भमेला र बाह्र वर्षमा पूर्णकुम्भमेला लाग्ने गरेको छ । भारतका चारस्थान इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासिक (महाराष्ट्र) र हरिद्वार (उत्तराखण्ड)मा लामोसमयदेखि कुम्भमेला लाग्दै आएको छ । यहाँ ६/६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भमेला लाग्नेगरेको छ । हिन्दूधर्म शास्त्रमा बराहक्षेत्रस्थित सप्तकोशी नदी र धरानको पिण्डेश्वरधाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा धार्मिक ग्रन्थमा उल्लेखित प्रमाणका आधारमा कुम्भमेला लगाउन थालिएको जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले बताउनुभयो ।

बराहक्षेत्रस्थित चतराधाममा गत चैत २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो । रासस

Facebook Comments