Sun. May 19th, 2024

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु   

लिमा, २०८१ वैशाख २५ गते मंगलबार । दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रान्सपोर्टेस टुरिज्मो युनिभर्सल नामक कम्पनीद्वारा सञ्चालित अन्तरप्रदेशीय बस पुनो-कुस्को मार्गमा जाँदै गर्दा स्थानीय समय अनुसार दिउँसो करिब २ः०० बजे दुर्घटना भएको सरकारी समाचार एजेन्सी एन्डिनाले जनाएको छ ।
पुनो राजमार्ग प्रहरीका प्रमुख डेभिड सोटा परेडेसले रेडियो प्रोग्रामासलाई बसमा २४ जना यात्रुसहित कस्को सहरतर्फ गइरहेको बताउनुभयो । पीडितमध्ये छ महिनाको बच्चा पनि रहेको राष्ट्रिय प्रहरीले उद्धृत गरेको छ ।
राज्य सञ्चालित टिभी पेरु नोटिसियाले केही गम्भीरसहित घाइतेहरूलाई सान जुआन डे डिओस अयाभिरी अस्पताल र सान्ता रोजा जिल्लाको क्लिनिकमा उपचारका लागि लगिएको जानकारी गराएको छ । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । सिन्ह्वा

Facebook Comments