Sun. May 19th, 2024

उपराष्ट्रपति यादवसँग संयुक्त अधिराज्यका राजदूतको शिष्टाचार भेट   

काठमाण्डू,२०८१ वैशाख २५ गते मंगलबार । राससका अनुसार उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रोवर्ट डोमिनिक रुसेल फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई अझ प्रवद्र्धन गर्ने विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सो अवसरमा उपराष्ट्रपति यादवले संयुक्त अधिराज्य नेपालको एक प्रमुख विकास साझेदार भएको र दुई देशबीच राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध तथा जनस्तरमा अद्वितीय मित्रता कायम रहेको उल्लेख गर्नुभएको थियो ।

उहाँले अन्तर्राष्ट्रिय मञ्चहरुमा पनि नेपाल र संयुक्त अधिराज्यले मानव कल्याणसँग सम्बन्ध राख्ने र साझा चासोका विविध क्षेत्रहरु राष्ट्रसङ्घीय शान्ति सेनामार्फत विश्वशान्ति स्थापनामा सहयोग, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा महिला सशक्तीकरणका लागि सहकार्य गर्दै आएकामा खुसी व्यक्त गर्नुभएको थियो ।

उपराष्ट्रपति यादवले नेपाल र नेपाली नागरिकहरूका तर्फबाट राजा चाल्र्सको व्यक्तिगत सुख एवं सुस्वास्थ्यको शुभकामना सन्देश प्रेषित गरिदिन आग्रहसमेत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । राजदूत फेनले नेपालको हरेक क्षेत्रमा संयुक्त अधिराज्यले सहयोग गर्न चाहेको बताउनुभएको थियो ।

Facebook Comments