Mon. Dec 23rd, 2024

युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश   

मस्को, २०८१ वैशाख २४ गते सोमबार ।  रुसको बेलगोरोड सीमा क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा छ जनाको मृत्यु र ३० भन्दा धेरै घाइते भएपछि राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार पश्चिमी ‘धम्कीहरू’ को सामना गर्दै नयाँ आणविक हतियार अभ्यासको आदेश दिनुभएको छ ।

उक्त अभ्यास ‘निकट भविष्य’ मा गरिने र यसमा वायुसेना, नौसेना र युक्रेन नजिकै तैनाथ सेना संलग्न हुने रुसको रक्षा मन्त्रालयले बताएको छ ।

फेब्रुअरीमा पुटिनले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा आणविक युद्धको ‘वास्तविक’ जोखिम रहेको चेतावनी दिएर आफ्नो आणविक बयानबाजीलाई बढाउनुभएको थियो ।

यसैबीच उक्त अभ्यास युक्रेनमा सेना पठाएकामा पश्चिमी मुलुकहरूको टिप्पणीको जवाफ भएको क्रेमलिनले बताएको छ । रक्षा मन्त्रालयले अभ्यासको उद्देश्य ‘केही पश्चिमी अधिकारीहरूको धम्कीहरू’ को सामना गर्दै रुसी क्षेत्रीय अखण्डता सुनिश्चित गर्नु रहेको बताएको छ ।

“अभ्यासका क्रममा गैर-रणनीतिक आणविक हतियारको तयारी र प्रयोगको अभ्यास गर्न धेरै उपाय गरिनेछ”, मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । रणनीतिक आणविक हतियार पनि भनिने गैर-रणनीतिक आणविक हतियार युद्धमैदानमा प्रयोगका लागि डिजाइन गरिएको छ र मिसाइलमार्फत डेलिभर गर्न सकिन्छ ।

युक्रेनसँग जोडिएको र रुसले कब्जा गरेको युक्रेनी क्षेत्र समेटेको दक्षिणी सैन्य जिल्लाका सेनाले अभ्यासमा भाग लिने मन्त्रालयले उल्लेख गरेको छ ।

क्रेमलिनको आणविक बयानबाजीबाट पश्चिमी अधिकारी अत्यधिक चिन्तित भएका छन् । युक्रेनको सीमावर्ती बेलगोरोड क्षेत्रमा अधिकारीहरूले पछिल्ला केही सातामा सबैभन्दा घातक आक्रमणको सूचना दिएपछि यस्तो घोषणा भएको हो । किएभले रुसी आक्रमणका कारण लाखौँ मानिसलाई विद्युत्विहीन बनाएको बताएको छ ।

बेलगोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले यस क्षेत्रमा गुडिरहेका दुई भ्यान र यात्रुवाहक कार ‘आत्मघाती युक्रेनी ड्रोन आक्रमण’ मा परेको बताउनुभयो । “दुर्भाग्यवश विस्फोटका कारण छ जनाको घटनास्थलमै मृत्यु भयो”, उहाँले भन्नुभयो ।

उहाँले युक्रेनी सीमाबाट करिब ३० किलोमिटर टाढा बेरोज्योभ्का गाउँ नजिकै भएको आक्रमणमा अन्य ३५ जना घाइते भएको जानकारी दिनुभयो । स्थानीय अधिकारीहरूले ती सवारी मासु उत्पादन केन्द्रको भएको बताएका छन् । ग्लाडकोभले घाइतेमध्ये दुई जना बालबालिका रहेको र ‘गम्भीर’ एकजनाको शल्यक्रिया भइरहेको बताउनुभयो ।

बेलगोरोडमा घातक युक्रेनी ड्रोन र मिसाइल आक्रमणको सङ्ख्या बढिरहेको छ । मस्कोले पूर्वी युक्रेनमा लगातार बढत हासिल गरिरहेको छ र उसले युक्रेनी सीमा क्षेत्रमा हवाई आक्रमण र गोलाबारी बढाएको छ ।

आणविक अभ्यास युक्रेनमा सेना पठाउनेबारे पश्चिमी टिप्पणीहरूको जवाफ- क्रेमलिन    

यसैबीच क्रेमलिनले रुसको आगामी आणविक अभ्यास युक्रेनमा नाटो सेना पठाउनेबारे फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनसहितका ‘अभूतपूर्व’ टिप्पणीहरूको प्रतिक्रियाका रूपमा रहेको बताएको छ । राष्ट्रपति पुटिनले आदेश दिनुभएको अभ्यासहरूले ‘निकट भविष्यमा’ अनिर्दिष्ट पश्चिमी ‘धम्की’ को सामना गर्ने रक्षा मन्त्रालयले पहिला नै घोषणा गरेको थियो ।
“हामी श्री म्याक्रोन र बेलायती प्रतिनिधिहरूको बयानहरूका बारेमा कुरा गरिरहेका छौँ भन्ने स्पष्ट छ”, अभ्यास के कारणले उत्प्रेरित थियो भन्ने प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भन्नुभयो, “उनीहरूले युक्रेनमा सशस्त्र दल पठाउने तयारी र मनसायबारे कुरा गरिरहेका छन्, त्यो वास्तवमा नाटो सेनालाई रुसी सेनाअघि राख्नु हो, यो बढ्दो तनावको पूर्णरूपमा नयाँ चरण हो, यो अभूतपूर्व छ र यसका लागि विशेष उपायको आवश्यकता छ ।”

म्याक्रोनले गत साता एक अन्तरवार्तामा रुसले युक्रेनको अग्रिम पङ्क्ति तोड्यो भने युक्रेनमा सेना पठाउने सवाल ‘वैधानिकरूपमा’ उठ्ने र किएभले यस्तो अनुरोध गरेको बताउनुभएको थियो ।

पुटिनलाई उल्लेख गर्दै उहाँले भन्नुभयो, “मैले कुनै पनि कुरालाई अस्वीकार गरिरहेको छैन किनकी हामीले यस्तो व्यक्तिको सामना गरिरहेका छौँ जसले कुनै पनि कुरालाई अस्वीकार गर्दैन ।” म्याक्रोनले फेब्रुअरीमा पनि यस्तै प्रकारको टिप्पणी गरिसक्नुभएको छ ।

बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले गत साता एक अन्तरवार्तामा युक्रेनसँग रुसभित्रका लक्ष्यमा आक्रमण गर्ने ‘अधिकार’ रहेको बताउनुभएको थियो ।

युक्रेनी सेना रुससँग लड्नका लागि पश्चिमी सैन्य सहायतामा निर्भर छ तर नाटोले युक्रेनमा सेना नपठाउने बताएको छ । एएफपी

Facebook Comments