Sun. May 19th, 2024

एक सयको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि

काठमाण्डू, २०८१ वैशाख २४ गते सोमबार । नेपाल सरकारले एक सयको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णयमा असन्तुष्टि जनाएको छ ।

चुनावी अभियानका क्रममा भुवनेश्वर पुग्नु भएका भारतीय विदेशमन्त्री एस जयशंकरले सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने नेपाल सरकारको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको हो । पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफ दिँदै उहाँले आफूले नेपाल सरकारको निर्णय सुनेको तर यस विषयमा भारतको स्पष्ट धारणा रहेको बताउनुभयो ।

सीमा क्षेत्र र नक्साका विषय दुई देशीय विषय भएकाले नेपालले गरेको एकल निर्णयको अर्थ नरहेको उहाँको भनाइ छ । धरातलीय यथार्थताका आधारमा निर्णय गर्नुपर्ने उहाँले बताउनुभयो । गत बिहीबार बसेको मन्त्रिपरिषदले एक सय रूपैयाँको नोटमा नयाँ नक्सा छाप्ने निर्णय गरेको थियो । एक सय रुपैयाँ दरको बैँकको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नयाँँ नक्सा राख्न सरकारले नेपाल राष्ट्र बैँकलाई स्वीकृतिसमेत दिइसकेको छ ।

नेपालले २०७७ जेठ ७ गते सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। भारतले उक्त भूभाग आफ्नो दाबी गर्दै आएको छ ।

Facebook Comments