Sat. May 18th, 2024

भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानद्वारा नौ जना सम्मानित   

मनहरी (मकवानपुर), २०८१ वैशाख २२ गते शनिबार । भीम विराग सङगीत साहित्य कला प्रतिष्ठानले आज नौ जनालाई सम्मानित गरेको छ । हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा प्रतिष्ठानले आज हेटौँडामा साहित्य, सङ्गीत, कला र पत्रकारितातर्फका विभिन्न विधामा सम्मानित गरेको हो ।

प्रतिष्ठानले साहित्य पुरस्कारबाट सुनसरीकी कुन्ता शर्मा, सङ्गीत पुरस्कारबाट मकवानपुरका लाल श्रेष्ठ, कला पुरस्कारबाट मकवानपुरकै बीएस राना र पत्रकारितातर्फ ललितपुरका जयदेव भट्टराईलाई पुरस्कृत गरेको हो । प्रतिष्ठानले उहाँहरुलाई जनही रु २५ हजार राशिसहित पुरस्कृत गरेको हो ।

यस्तै प्रतिष्ठानले रु १५ हजार राशिको तुलसीमाया-शिवकुमारी सृजनशील नारी सम्मानबाट मञ्जु खराललाई, रु १५ हजार राशिको शिला नारी पुरस्कार निरु मगरलाई, रु २० हजार राशिको रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार पम्फा थापा मगरलाई प्रदान गरेको छ ।

यस्तै रु १० हजार राशिको मङ्गलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार सीमा मिश्रलाई र रु १० हजार राशिको अजित सेन गुप्ता भिन्न क्षमता पुरस्कार बाराकी अञ्जु धिताललाई प्रदान गरिएको छ ।

मिश्र मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्र्मी हुनुहुन्छ भने धिताल बारा शिक्षकको रुपमा कार्यरत दृष्टिविहिन हुनुहुन्छ । पुरस्कार वितरण कार्यक्रममा भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठको सभा अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख अतित्थता रहेको थियो । रासस

Facebook Comments