Wed. Dec 25th, 2024

तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प   

किमाथाङ्का (सङ्खुवासभा), २०८१ वैशाख २२ गते शनिबार । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ । विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो । वैशाख १० गतेपछि बाक्लो तुवाँलोले विमानस्थल वरपरको डाँडा ढाकेपछि हवाई सेवा अवरुद्ध भएको हो । मौसम प्रतिकूल भएपछि निजी कम्पनीका विमानले तुम्लिङटारमा उडान भर्न नसकेको बुद्ध एयरका राजीव पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार जनवरी यता ४४ पटक उडान रद्द भएको छ । तुम्लिङटार विमानस्थलमा उडान नभएपछि दैनिक ६५ भन्दा बढी यात्रु अलपत्र पर्ने गरेका छन् । उडान अवरुद्ध भएपछि सङ्खुवासभा, भोजपुर, धनकुटाका यात्रु प्रभावित भएका छन् । तुम्लिङटार विमानस्थल पहाडी तथा हिमाली जिल्लाको बढी यात्रु हुने विमानस्थलमध्ये एक हो ।

उडानका लागि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी आवश्यक पर्नेमा अहिले एक किलोमिटर मात्र भिजिबिलिटी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । तुम्लिङटार विमानस्थलमा बुद्धको एटिआर-७२ ले दैनिक उडान भर्दै आएको थियो । धावनमार्गको स्तरोन्नति भएसँगै गत वर्षदेखि बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले दैनिक उडान गर्न थालेको थियो । विश्वकै पाँचौं अग्लो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत् आयोजना, पर्यटकका लागि छोटो दूरीको उडानका कारण यहाँ यात्रुको भीडभाड हुने गर्छ । रासस

Facebook Comments