Tue. Dec 24th, 2024

श्रमिकको सीपमा लगानी गर्नुपर्छ : श्रममन्त्री अर्याल   

काठमाण्डू, २०८१ वैशाख १९ गते बुधबार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिने योजना रहेको जानकारी दिनुभएको छ ।

एक सय ३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन महासङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले आन्तरिक रुपमा सीपमूलक तालिम उपलब्ध गराउने योजना रहेको बताउनुभएको हो । “आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धिका लागि काम गरिरहेका छौँ । आन्तरिक रुपमा सीपमूलक तालिमहरु दिनुपर्छ भन्नेमा योजना बनाइरहेका छौँ”, मन्त्री अर्यालले भन्नुभयो, “अबको दशक भनेको आन्तरिक रोजगारीको दशक बनाउने हो । यो दशकमा सीपमा लगानी बढाउने प्रतिबद्धतासहित हामीले काम गरिरहेका छौँ ।” उहाँले सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष र सञ्चय कोष, तीनवटै संस्थाबीचको सम्बन्ध सुमधुर बनाउँदै प्रभावकारी सेवा प्रवाहका लागि छलफल भइरहेको जानकारी दिनुभयो ।

मन्त्री अर्यालले शिक्षा नीति र श्रम बजारको मागबिच तालमेल नमिलेकाले सीप र प्रविधियुक्त जनशक्ति बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । श्रमिक र रोजगारदाताबीच सुमधुर सम्बन्ध निर्माणका लागि काम गरिरहेको उहाँको भनाइ थियो । उहाँले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन मन्त्रालय प्रयासरत रहेको बताउनुभयो । अन्तर्राष्ट्रियस्तरबाट नेपाली श्रमिकप्रति हेर्ने नजर सकारात्मक रहेकामा प्रशंसा गर्नुभयो । “श्रमिक र रोजगारदाताबीचको सम्बन्ध सोचेजस्तो हुन सकेको छैन । न्यूनतम पारिश्रमिक दिने र बढि समय काममा खटाउने जस्ता विषयमा हामीले निजी क्षेत्रका व्यवसायी र रोजगारदातासँग निरन्तर छलफल गरिरहेका छौँ”, श्रममन्त्री अर्यालले भन्नुभयो ।

नेपाली श्रमिकको हकहितका लागि विभिन्न अन्तर्राष्ट्रिय निकायहरुसँग भइरहेको सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । मन्त्री अर्यालले स्वदेश र विदेशमा रहेका नेपाली श्रमिकका समस्या समाधान खोज्न एकद्वार प्रणालीबाट ‘श्रमाधान’ योजना घोषणा गरेको जानकारी दिनुभयो । रासस

Facebook Comments