Tue. May 21st, 2024

श्रमिक तिमीलाई नमन-भवानी न्यौपाने ‘भावना’

- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

✍️ भवानी न्यौपाने ‘भावना’ 

नेतृत्वले नै गलत राजनीति गरेपछि
भागबन्डा मै देश रित्याएपछि
धर्म र संस्कार टुक्रयाएपछि
चाप्लुसी र चाकडीवाद भित्र्याएपछि
राम्राहरू ओझेल परे
हाम्राहरूको लाम लगाएपछि
कसरी बन्छ देश यहाँ ?
बाइसे टाकुरे राजा भरिएपछि
के उन्नति भयो प्रदेश जन्माएपछि ?
विदेशी संस्कृति मौलाएपछि
असल व्यक्ति पाखा लागे हाम्राहरूलाई जुटाएपछि
त्यसैले टाट पल्टियो यहाँ
निमुखाहरूको ढाट पड्कियो यहाँ
तल्लो वर्ग झन् तल छ
माथिल्लो तह उठेकैछ्
धनले धन तानेकैछ
गरीबलाई छुरा हानेकैछ
के हुन्छ कठै ! विकास यहाँ
कसरी पाउने निकास यहाँ ?
बालुवाटार खचाखच भरियो
सोझा साझा त्यसै मरियो
नेपालीहरू विदेशतिर
विदेशीहरू नेपालतिर
श्रमिकको जीवन उस्ताको उस्तै
नेतृत्ववर्ग झन् माथि उठ्दै
आदर्शमा खडेरी लाग्यो
नैतिकता किनारा लाग्यो
शिक्षामा व्यापार चलेकै छ
विद्वानको मन गलेकैछ
हत्या र हिंशा फस्टाउँदैछ
शान्तिको जून अस्ताउँदैछ
जनताको सपना तुहिदै गयो
गरीबको धुरी चुहिँदै गयो
आऊ श्रमिक हात समाऊ
गोलबन्द भई बत्ती बलाऊ
श्रमको फूल रोपेर यहाँ
विकासको माला तिमीले लगाऊ
भ्रष्टाचारी टाढा भगाऊ
यो देश तिम्रै काँधमा चढाऊ
गलत नेता दूर भगाऊ
यो देशको गिटार तिमीले बजाऊ
विदेशका युवा नेपाल मै फर्काऊ
यो देश तिम्रै श्रमले सजाऊ
तिमीलाई हार्दिक सम्मान
तिमीलाई सदा सदा नमन ।

(२०८१ वैशाख १९ गते बुधबार/तुलसीपुर पाँच ग लाइन, दाङ)

 

Facebook Comments