Sat. May 4th, 2024

कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डद्वारा भव्य स्वागत

राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै । तस्बिरः किरणराज विष्ट/रासस

काठमाण्डू, २०८१ बैशाख ११ गते मंगलबार ।  मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा आज अपरान्ह काठमाण्डू आइपुग्नु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउनुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेलले भव्य स्वागत गर्नुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा आज आउनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिरः किरणराज विष्ट/रासस

स्वागतका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल पुग्नुभएको थियो ।

यसैगरी कतारका अमिरलाई स्वागत गर्न उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुग्नुभएको थियो ।

नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार स्वागत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदिपराज वन्त/रासस

बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी उहाँ आज अपरान्ह विशेष विमानबाट काठमाण्डू आइपुग्नु भएको हो । सो अवसरमा कतारका अमिरको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।  कतारका अमिरले आजै साँझ राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । अमिरको सम्मानमा राष्ट्रपति पौडेलले राजकीय भोजको आयोजना गर्नुहुने कार्यक्रम छ ।

नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा नेपाली सेनाद्वारा प्रदान गरिएको सम्मान गारत ग्रहण गर्दै । तस्बिरः किरणराज विष्ट/रासस

भ्रमणका क्रममा नेपाल र कतारबीच युवा तथा खेलकुद र शिक्षा तथा वैज्ञानिक अनुसन्धानलगायत विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी हुने जनाइएको छ ।

राससका अनुसार नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाण्डूमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो ।

Facebook Comments