Fri. May 3rd, 2024

मदन भण्डारीकाे हत्यारा पत्ता लगाउन देउवाद्वारा कम्युनिष्टहरूलाई चुनौती

भिओके समाचार/२०८१ बैशाख १० गते सोमबार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति/पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जननेता मदन कुमार भण्डारीको हत्यारा अझै पत्ता लगाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

आज ललितपुरको गोदावरीथित सनराईज हलमा नेकपा एमालेद्धारा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हीरक महोत्सव समारोहमा बोल्दै उहाँले मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वप्रति प्रश्न समेत गर्नुभयो । कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा पत्ता लगाउन अहिलेसम्म नसकेको सभापति देउवाको भनाइ थियो ।

उहाँले मदन भण्डारी आफूहरुको पनि नेता भएको उल्लेख गर्दै तर उहाँको हत्यारा पत्ता लगाउने काम किन गरिएन रु भन्ने मदन भण्डारीकी धर्मपत्नी समेत रहनुभएकी विद्या भण्डारीलाई पनि प्रश्न गर्नुभयो । दुई पटक राष्ट्रपति हुँदा र एमालेको नेतृत्वमा पटक पटक सरकार बन्दा पनि सो हत्याकाण्डको रहस्य पत्ता लगाउने काम नभएको उल्लेख गर्दै सभापति देउवाले त्यसमा कांग्रेसले कुनै व्यवधान खडा नगरेको पनि बताउनु भयो । उहाँले कांग्रेसलाई गाली गर्नेहरुले मदन भण्डारीको हत्यारा पत्ता लगाउनुपर्ने बताउनु भयो ।

सभापति देउवाले नेपाली काँग्रेस सधैँभर देशको महत्वपूर्ण मुद्दामा विद्यमान राजनीतिक दलहरुबीच संवाद, सहमति र सहकार्यको नीति लिँदै आएको र त्यसको निरन्तरताको पक्षमा रहेको पनि बताउनु भयो । उहाँले संसदमा प्रतिपक्षले उठाएका विषयलाई गम्भीरतापूर्वक लिन पनि सरकार र सत्तारुढ दलहरुलाई आगह गर्नुभयो ।

Facebook Comments