Mon. May 11th, 2026

उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने बताउनुभएको छ ।    

       

फिक्कल (इलाम), २०८१ वैशाख ८ गते शनिबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने बताउनुभएको छ ।

इलामको फाकफोकथुम गाउँपालिकास्थित आमोचकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर गाउँ छिर्ने जो-कोहीलाई कडा कारबाही गरिने बताउनुभएको हो ।

उहाँले पैसा बाँड्न आउनेको फोटो खिचेर पठाए २४ घण्टाभित्र कारबाही गर्ने बताउनुभयो । “मौन अवधिमा धेरै पैसाको चलखेल हुन्छ, यदि कसैले पैसा दिन खोज्यो भने फोटो खिचेर गृह मन्त्रालयमा पठाइदिनुहोला”, उहाँले भन्नुभयो, “२४ घण्टाभित्र त्यसलाई कारबाही गर्छौँ ।”

उहाँले गाउँगाउँमा पैसा बाँड्दै हिँडेर इलामको भविष्य किन्न खोज्नेलाई सार्वजनिक गरेर आम नागरिकसामु चिनाउने बताउनुभयो । “सुरक्षाकर्मी साथीहरू यही हुनुहुन्छ, चोकचोकमा खटिएर नागरिकलाई सचेत गराउनुहोला, पैसाको पोको बोकेर गाउँ छिर्नेलाई त्यही पोकोमा पोको पारेर हिरासतमा पठाइदिनुहोला”, उहाँले सुरुक्षाकर्मीलाई निर्देशन दिँदै भन्नुभयो ।

राससका अनुसार लामिछानेले आफ्नो पार्टीको उम्मेदवार जिताउन मात्रै इलाम नआएको उल्लेख गर्दै इलामलाई जिताउन र आम इलामेली नागरिकलाई जिताउन चुनावी घरदैलोमा आएको बताउनुभयो ।

रास्वपाले इलाम-२ मा पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । रास्वपाको टोली अहिले चुनावी घरदैलोमा छ । यही वैशाख १५ गते इलाम-२ मा उपनिर्वाचन हुँदैछ ।

Facebook Comments