Mon. Dec 23rd, 2024

सरकार र समुदाय ओत पाएपछि उज्यालिँदै ऐतिहासिक कोत   

समुदायको इच्छाशक्ति र सरकारको सहयोग हुने हो भने ऐतिहासिक र सामरिक विरासतका प्राचीन सम्पदा पनि पर्यटकका लागि आकर्षणका केन्द्र बन्न सक्दारहेछन् भन्ने उदाहरण म्याग्दीको ज्यामरुककोटस्थित ऐतिहासिक खड्गभवानी कोत बनेको छ ।

गलेश्वर (म्याग्दी), २०८१ वैशाख ५ गते बुधबार ।  समुदायको इच्छाशक्ति र सरकारको सहयोग हुने हो भने ऐतिहासिक र सामरिक विरासतका प्राचीन सम्पदा पनि पर्यटकका लागि आकर्षणका केन्द्र बन्न सक्दारहेछन् भन्ने उदाहरण म्याग्दीको ज्यामरुककोटस्थित ऐतिहासिक खड्गभवानी कोत बनेको छ । तत्कालीन पर्वत राज्य अन्तर्गतको प्रमुख सामरिकस्थल ज्यामरुकोटस्थित खड्गभवानी कोतको इतिहास १५औँं शताब्दीका थापा राजाहरुसँग जोडिएको छ ।

विसं १२४६ देखि १५४५ सम्म थापाले राज्य गरेका ज्यामरुककोटमा उनीहरूले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख गरिएको छ । करिब छ सय वर्ष पुरानो इतिहास रहेको म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटमा पर्ने तत्कालीन पर्वत राज्यको प्रमुख सामरिक केन्द्र खड्गभवानी कोतमा पछिल्लो समय समुदाय र गण्डकी प्रदेश सरकाको पहलमा धमाधम पूर्वाधार निर्माण भएपछि यहाँ पर्यटकहरु आउन थालेका छन् । विकासको उज्यालोले यो ऐतिहासिकस्थल उज्यालिँदै गएको स्थानीयवासीले बताएका छन् ।

अहिले यो पुरानो सम्पदाको मौलिकस्वरुप नबिग्रने गरी पुनःनिर्माण गरिने भएको छ । सामरिकस्थलको मौलिकस्वरुप नबिग्रने गरी विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । नगरपालिकाले ऐतिहासिक कोतको मौलिकस्वरुप यथावत् रहनेगरी पुनःनिर्माण गर्नका लागि डिपिआर तयार गरेको बेनी-२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

“पुनः निर्माणका लागि नगरपालिकाले डिपिआर तयार गरेको छ । पालिकाको बजेटले मात्र पुनःनिर्माण सम्भव नहुने भएकाले प्रदेश र सङ्घीय सरकारसँग पनि अनुरोध गर्ने भएका छौँ”, वडाध्यक्ष कार्कीले भन्नुभयो, “ऐतिहासिक कोतको गर्भगृह र अन्य पुरातात्विक सम्पदा यथावत रहनेगरी पुनःनिर्माण गर्नेछौँ ।”

खड्गभवानी कोत पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्यस्थल बन्दै गएको छ । ज्यामरुककोटको छिमिकी बागलुङको पञ्चकोटमा धार्मिक पर्यटक वृद्धि भएसँगै ऐतिहासिक ज्यामरुककोटमा समेत सकारात्मक प्रभाव परेको वडाध्यक्ष कार्कीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय खड्गभवानी कोत परिसरमा विभिन्न पूर्वाधार निर्माण भएका छन् ।

समुद्री सतहदेखि एक हजार छ सय ४८ मिटर उचाइमा रहेको करिब छ सय वर्ष पुरानो इतिहासको आँखीझ्याल मानिने ज्यामरुककोटको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व उजागर गर्न वडा कार्यालयले पूर्वाधार निर्माण गरेपछि यहाँका सम्पदा पर्यटक र विकाससँग जोडिएका कार्कीको भनाइ छ । पन्ध्रौँ शताब्दीमा प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुकोटको (खड्गभवानी कोत) परिसरलाई धार्मिक र प्राकृतिक पर्यटकीयस्थल बनाउने उद्देश्यले बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएको उहाँले बताउनुभयो ।

वडाअध्यक्ष कार्कीका अनुसार यहाँ मल्लकालमा प्रयोग भएका अत्यन्त दुर्लभ हातहतियारसमेत छन् । सदरमुकाम बेनीबजारबाट छ किलोमिटर टाढा रहेको ज्यामरुककोट पछिल्लो समय पर्यटक र पैदलयात्रीको रोजाइमा पर्ने गरेको उहाँले जानकारी दिनुभयो । दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ । परम्परागतरूपमा बनेका घर, यहाँ बस्ने ब्राह्मण, क्षेत्री र दलित समुदायको बोलिचाली तथा सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको स्थानीय बताउँछन् ।

“उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायत नौ वटा हिमशृङ्खला छन् । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सुन्दर दृश्य देख्न सकिन्छ । माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली । तल्लोपट्टी बेनी बजारको रमणीय दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन थालेको छ”, वडाध्यक्ष कार्कीले भन्नुभयो । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुने म्याग्दीको ऐतिहासिक तथा प्राकृतिक महत्वले युक्त ऐतिहासिक खड्गभवानी कोतको पुनःनिर्माणको तयारी सुरु भएको उहाँले जानकारी दिनुभयो ।

समुद्री सतहदेखि एक हजार छ सय ४८ मिटर उचाइमा रहेको ज्यामरुककोटमा पछिल्लो समय भौतिक पूर्वाधार निर्माण र यातायात तथा सञ्चार लगायतका क्षेत्रमा विकास हुन थालेको छ । १५औँ शताब्दीमा थापाहरूले राज्य गरेको ज्यामरुककोटको (खड्गभवानी कोत) परिसरलाई धार्मिक र प्राकृतिक पर्यटकीयस्थल बनाउने उद्देश्यले गण्डकी प्रदेश, बेनी नगरपालिका, वडा कार्यालय र स्थानीयवासीले पूर्वाधार निर्माणमा तीव्रता दिएका छन् ।

थापा र मल्लकालीन विरासत बोकेको ऐतिहासिक र पुरातात्विक महत्वलेयुक्त खड्गभवानी कोत परिसरका सम्पदा विकाससँग जोडिन थालेका छन् । बेनी नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा आर्थिक वर्ष रु २१ लाखको लगानीमा मन्दिरसम्म पुग्ने तीन सय ५० मिटर पदमार्ग र रेलिङ निर्माण गरिएको छ ।

यसैगरी बेनी नगरपालिकाले पर्यटनतर्फबाट पाँच लाख र वडा कार्यालयको दुई लाख बजेटबाट कोत परिसरमा दुई सय १० मिटर घेराबार, दुई सय मिटर बाटो ढलान, पटाङ्गिनी निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरेको बेनी नगरपालिका–२ का अध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । वडाध्यक्ष कार्कीका अनुसार जिल्लाकै महत्वपूर्ण ऐतिहासिकस्थल खड्गभवानी कोत परिसर पर्यटकीयस्थलको रूपमा परिचित हुँदै गएको छ ।

यस ठाउँको महत्व उजागर गरेर प्रचारप्रसार गर्नुका साथै आवश्यक पर्यटकमैत्री पूर्वाधार निर्माण गर्न सकेमा उल्लेख्य पर्यटक आउन सक्ने उहाँको भनाइ छ । रासस

Facebook Comments