Thu. May 16th, 2024

सर्लाहीमा असिना पानी, कृषि उपजमा व्यापक क्षति

काठमाडौं, २०७७ बैशाक १२ गते शुक्रबार

सर्लाहीको उत्तरी चुरेभेगमा शुक्रवार मध्यान्ह हावाहुरीसहित ठूलो असिना पानी परेको छ । जिल्लाको पत्थरकोट, नारायणखोला, परवानीपुर, कालिन्जोर लगायत चुरे आसपासका बस्तीहरुमा भीषण असिना पानी परेको हो । असिनाले त्यस क्षेत्रमा रहेका दर्जनौं खर, टाली तथा खपडाले छाएका घरको छानोमा क्षति पु¥याएको छ भने बालीनालीमा पनि व्यापाक क्षति गरेको स्थानीयवासिन्दाले बताएका छन् ।

लालबन्दी नगरपालिका-१५, सतभैयाकी रत्नमाया रेग्मीले असिना पानीले तूलफूल केही बाँकी नराखेको जानकारी दिनुभयो । उहाँका अनुसार चिचिला लाग्दै गरेका आँप तथा लिची, मकै बाली र तरकारीमा पनि असिना पानीले व्यापक क्षति गरेको छ । आफूले अहिलेसम्म कहिले पनि नदेखेको ठूलो असिना पानी सुक्रवार परेको लालबन्दी नगरपालिका–११, बाहुनीका अष्टबहादुर लामाले बताउनु भएको छ ।

असिनाले हरियो बोटविरुवाको पात तथा फल सबै झारेपछि सबैतिर उजाड देखिएको लामाले बताउनु भएको छ । हावाहुरीले विभिन्न स्थानमा रुख विरुवा ढलेर बिजुलीको तार तथा पोलहरुमा क्षति पुर्याएको छ । मध्यान्हको हावाहुरीपछि जिल्लाभर विद्युत् अवरुद्ध भएको छ भने ठाउँ-ठाउँमा रुख ढलेर बाटो समेत ठप्प भएका छन् ।

यसैबीच हावाहुरी र असिना पानीमा परेर लालबन्दी नगरपालिका-११, मा दुई जना घाईते हुनु भएको छ । खेतमा काम गरिरहेको अवस्थामा असिना पानीले चुट्दा ६० वर्षीया जेसुन माया घिसिङ र घरको जस्ता खसेर लाग्दा ७० वर्षीय लालबहादुर ब्लोन घाईते हुनु भएको वडाध्यक्ष दीपक कुमार लामाले जानकारी दिनुभयो । घाईते जेसुन मायाको स्थानीय मेडिकलमा उपचार भइरहेको वडाध्यक्ष लामाले बताउनु भएको छ ।

एकैछिन आएको हावाहुरीले घर तथा अन्नबालीमा ठूलो क्षति गरेपछि चुरभेगका स्थानीय वासिन्दा चिन्तित भएका छन् । जिल्लाको अन्य क्षेत्रमा पनि मौसम बद्ली भई हल्का वर्षा भएपनि हावाहुरी र असिना परेन् । शुक्रवार दिउँसोबाट भने जिल्लाको सबै क्षेत्रको मौसम सफा छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments