Sat. May 4th, 2024

भोजपुरमा छैटौँ ‘मुन्दुम ट्रेल रेस’ हुँदै  

प्रत्येक वर्ष भोजपुरमा सञ्चालन हुँदै आएको मुन्दुम ट्रेल रेसको तयारी थालिएको छ । नयाँ वर्षको अवसरमा आगामी वैशाख ३ गते भोजपुर नगरपालिकामा ट्रेल रेसको छैटौँ संस्करण आयोजना गर्न लागिएको हो ।    

टक्सार (भोजपुर), २०८० चैत २९ गते बिहीबार ।  प्रत्येक वर्ष भोजपुरमा सञ्चालन हुँदै आएको मुन्दुम ट्रेल रेसको तयारी थालिएको छ । नयाँ वर्षको अवसरमा आगामी वैशाख ३ गते भोजपुर नगरपालिकामा ट्रेल रेसको छैटौँ संस्करण आयोजना गर्न लागिएको हो ।

टेम्केमैयुङ गाउँपालिकाको मुख्य प्रायोजन तथा रिमाचुङ स्र्पोटस एण्ड एकेडेमीको आयोजनामा जिल्लाको बाघखोरबाट चखेवा भञ्ज्याङसम्म ४० किलोमिटर ट्रेल रेस प्रतियोगिता सञ्चालनको तयारी भइरहेको आयोजक संस्थाका अध्यक्ष पाविहाङ राईले जानकारी दिनुभयो । उहाँका अनुसार रेस भोजपुर-४ बाघखोरबाट सुरु भई टेम्केमैयुङ–४ को चखेवा भञ्ज्याङसम्म रेस सञ्चालन हुनेछ ।

विसं २०८१ वैशाख १, २ र ३ गतेदेखि कृषि, पर्यटन र सांस्कृतिक महोत्सव चखेवामा हुन लागेको छ । सोही अवसर पारेर ट्रेल रेस हुन लागेको अध्यक्ष राईको भनाइ छ । “सरकारको एक सय पर्यटन गन्तव्यका रूपमा सूचीकृत मुन्दुम पदमार्गको प्रचारप्रसारका लागि पनि यो रेस महत्त्वपूर्ण हुनेछ”, उहाँले भन्नुभयो ।

प्रतियोगितामा नेपाल आर्मीसहित १० जिल्लाका खेलाडी खुला पुरुषतर्फ ९९, खुला महिलातर्फ ३६ र ४० वर्षमाथि पुरुषतर्फ १२, महिला तीन गरी करिब एक सय ५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।

रेसमा महिला तथा पुरुष विधातर्फ विजयी, प्रथम, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः रू ३५ हजार, रू २५ हजार, रू १५ हजार र रू पाँच हजार प्रदान गरिने छ । त्यस्तै ४० वर्षमाथि भ्याट्रन महिला, पुरुष विधातर्फ विजयी, प्रथम र दोस्रो रनरअपलाई क्रमशः रू १५ हजार, रू आठ हजार, रू पाँच हजार नगदसहित प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिने आयोजक संस्थाका सचिव सङ्ग्राम राईले जानकारी दिनुभयो ।

यसअघि सञ्चालित संस्करणका खेलाडी उमेश राई, प्रतिभा श्रेष्ठ, हिरामान तामाङ, रामबहादुर गुरुङलगायत अन्य खेलाडीले देशका विभिन्न क्षेत्रमा सञ्चालन हुने रेस प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।रासस

Facebook Comments