Sat. Jul 27th, 2024

तिहारको अन्तिम दिन सुख–समृद्धिको कामना गर्दै भाइटीका लगाईयो ।

dav

विराटनगर, २०७६ कात्तिक १२ गते मंगलवार ।

नेपालीहरुको दोश्रो ठूलो चाड तिहारको अन्तिम दिन आज देशभर परम्पराअनुसार दिदीबहिनीबाट दाजुभाइको दीर्घायु, सुख तथा समृद्धिको कामनाका साथ भाइटीका लगाईयो ।


दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाईदिंदा धार्मीक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीका साथै यमराज र यमुनाको पूजा गरी त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओईलाउने मखमली, सयपत्री र दूबोको माला लगाईदिएर चिरायुुको कामना गर्ने गर्दछन् ।

पौराणिक मान्यताअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई यस दिन विशेष सम्मानपूर्वक पूजाआजका साथ टीका लगाई दीर्घायुको कामना गरेकी हुँदा त्यसै घटनाको सम्झनामा दाजुभाइको दीर्घायुको कामना गदै दिदीबहिनीले भाइटीका लगाउने परम्परा चल्दै आएको हो ।


टीकाका साईतका प्रतीक सात वा पाँच रङ्ग प्रयोग गरिनाका साथै दाजुभाइलाई सगुन, मिठाई, फलफूल, ओखर, कटुस र मसला तथा सेलरोटी दिने चलन छ । दिदीबहिनीहरुले टीका लगाईदिएपछि दाजुभाइहरुले पनि आफ्नो गच्छेअनुसार उपहार तथा दक्षिणा दिएर उनीहरुको अटल सौभाग्य, सुख, समृद्धि र चिरायुको कामना गर्दछन् ।


दिदीबहिनी नहुने दाजुभाइहरुले आज काठमाडौंको रानीपोखरीको बीचमा अवस्थित यमलेश्वर महादेव मन्दिरमा दर्शन गरी टीका लगाउने चलन छ । प्रत्येक वर्ष उक्त मन्दिर आज भाइटीकाका दिनमा मात्र सर्वसाधारणका लागि खुल्ला गरिन्छ । आज भाइटीका लगाएर खानपान सकेपछि घरघरमा गई श्रीसम्पत्तीको कामना गर्दै देउसी खेलिन्छ ।

यसैबीच मंगलबार मध्यान्हदेखिनै विराटनगरका विभिन्न सडक तथा वस्तीहरुमा निधारमा रंगीचंगी टिका, गलामा सयपत्री, मखमली र गोदावरी फूलका माला लगाएका मानिसहरु यत्रतत्र हिडिरहेका देखिन्थे भने शहर र गाउँहरुमा देउसी र भैलो खेल्नेहरुले तिहारलाई अझ रमाईलो पारेका थिए ।

Facebook Comments